स्पोर्टस् अवार्डका वर्ष खेलाडीलाई मोटरसाइकल र स्कुटर हस्तान्तरण

पोखरा, २० साउन/ चौथो टीभीएस अपाचे पोखरा स्पोर्टस् अवार्डका वर्ष खेलाडीलाई मुख्य प्रायोजक बतास ब्रदर्श प्रालिले मोटरसाइकल र स्कुटर हस्तान्तरण गरेको छ ।

पोखरा नयाँबजारस्थित बतास शो रुममा आइतवार एक कार्यक्रमबीच प्रालि अध्यक्ष आनन्दराज बतासले पुरुषतर्फ वर्ष खेलाडी घोषित युकेश गुरुङलाई टीभीएस अपाचे मोटरसाइकल (१६० सीसी) र महिलातर्फ वर्ष खेलाडी घोषित फूल कन्ट्याक्ट कराँतेकी सुष्मी श्रेष्ठलाई वीगो स्कूटर (११० सीसी) हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा अध्यक्ष बतासले गुरुङ र श्रेष्ठको खेल जीवनको अझ सफलताको कामना गरे ।
कार्यक्रम संचालन गर्दै बतास ब्रदर्शका प्रबन्धक सन्तोष पोखरेलले मञ्चसँगको सहकार्य रहीरहने बताए ।

कार्यक्रममा मञ्च अध्यक्ष एकराज गिरी, उपाध्यक्ष रञ्जन अधिकारी, महासचिव विजय नेपाल, कोषाध्यक्ष शशीकुमार पौडेल, सदस्य रोशन अधिकारी लगायतको उपस्थिति थियो । गत जेठ २४ मा पोखरा सभागृहमा भएको अवार्ड समारोहमा बक्सिङका चित्रबहादुर गुरुङलाई लाइफटाइम अचिभमेन्ट अवार्ड दिइएको थियो ।

यस्तै, वर्ष चर्चित खेलाडी सुटिङकी श्रेया केसी घोषित भएकी थिइन् । उदियमान खेलाडी क्रिकेटका अर्जुन कुमाल र वर्ष उत्कृष्ट प्रशिक्षक फूल कन्ट्याक्ट कराँतेका दीपक गोदारले उपाधि हात पारेका थिए ।

वर्ष उत्कृष्ट पत्रकार पुरस्कारबाट विनोद लामिछाने र वर्ष उत्कृष्ट खेल संघबाट जिल्ला बास्केटबल संघ कास्की सम्मानित भएका थिए । यसैबीच, आइतबार नै सम्पन्न मञ्चको ११ औं बैठकले अवार्ड समारोह सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गरेको छ ।

कमेन्टहरु
Loading...