पोखरा रंगशालामा सुटिङ रेन्ज बनाईने

पोखरा, १२ भदौ / नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पोखरा रंगशालाभित्र सुटिङ रेन्ज निर्माण गर्ने निर्णय गरिएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय खेलकुद परिषदका प्राविधिकले स्थलगत छनोट गरेपछि सुटिङ रेन्ज निर्माण गर्ने निर्णय गरिएको हो । परिषदले सुटिङ रेन्जको लागि आर्चरीदेखि पश्चिम र अन्नपूर्ण स्केट पार्कदेखि उत्तर तर्फ रहेको जग्गालाई उपयो गर्ने निर्णय गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

‘जग्गा छनोट गरिएको छ । प्राविधिकले जग्गाको नापजाप गरेपछि फाईनल गर्दै बैठकमा माइन्युट गरेर सदर गरियो ।’ अध्यक्ष श्रेष्ठले भने–‘टेण्डर गरेर काम अगाडि बढाईने छ ।’ जग्गालाई स्केट पार्कले तारजाली गरेको छ । केही भागमा तारजाली लगाउनुपर्ने आवश्यकता छ । तारजाली लगाई सुटिङको पुर्वाधार तयार पार्ने काम अघि बढ्ने उनले सुनाए । परिषदका प्राविधिक विश्वमित्र सञ्जेलको उपस्थितिमा जग्गाको निरिक्षण गरी टुग्याइएको थियो । सञ्जेले केन्द्रबाट पोखरा आएका हुन् ।

सुटिङ रेन्जको लागि क्षेत्रीय खेलकुद विकास समितिले २५ मिटर लम्बाई र २५ मिटर चौडाईको पुर्वाधार निर्माण गर्ने योजना बनाएको छ । दुई दुई वर्षमा आयोजना गरिने राष्ट्रिय खेलकुद प्रतियोगितामा सुटिङको १० मिटर पेष्तोल र एयर राईफलमा मात्रै प्रतिस्पर्धा हुदैं आएको छ । पोखरामा पनि २०७७ फागुन २० गतेदेखि शुरु हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि १० मिटर एयर पेष्तोल र राईफलको प्रतिस्पर्धा गराउने लक्ष्यसहित पुर्वाधारको काम शुरु गरिने अध्यक्ष श्रेष्ठले बताए ।

बैठकमा क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगी, क्षेत्रीय निर्देशक विद्या मर्सानी एवं प्राविधिकहरु समेतको उपस्थितिमा निर्णय गरिएको हो । परिषदले सुटिङ रेन्जको लागि ५० लाख रुपैयाँ छुट्टाएको छ । छुट्टाइएको बजेटबाटै रेन्जको पुर्वाधार तयार गरिने छ । प्राविधिक सञ्जेलका अनुसार २५ मिटर भित्रैमा खेलाडीको लागि चेन्जिङ रुम, शौचालय, रेन्ज अफिसर तथा दर्शकदीर्घाको लागि समेत प्यारापिट अटाउने पुर्वाधार तयार गरिने छ ।

‘२५ मिटरमा सबै अटन्े गरी बनाउने छौं । प्राविधिक सञ्जेलले भने–‘बाँकी १० मिटरमा तार्गेट राखेर प्रतिस्पर्धा गराईने छ ।’ अन्तराष्ट्रिय मापदण्ड अनुसार १० मिटर एयर पेष्तोल र राईफल तथा २५ मिटर एयर पेष्तोल र राईफलको लागि छुट्टै पुर्वाधार चाहिन्छ ।

१० मिटरमा एयर पेष्तोल र राईफलको मात्रै प्रतिस्पर्धा हुने प्रचलनले २५ मिटरको प्रतिस्पर्धा अहिलेको पुर्वाधारमा सम्भव नहुने सुटिङका प्रशिक्षक भगवती केसीले बताईन् । ‘२५ मिटरको पुर्वाधारमा १० मिटरको पेष्तोल र राईफलको मात्रै प्रशिक्षण र प्रतियोगिता सञ्चालन गर्न सकिन्छ ।’ उनले भनिन–‘२५ मिटरको प्रतिस्पर्धा गराउने छुट्टै रेन्ज बनाउनुपर्छ । हल नै छुट्टै हुनुपर्छ ।’

पेष्तोल र राईफलको तार्गेट छुट्टै हुने छ । सामान्य आधादेखि एक मिटरसम्मको दुरीको फरकमा तार्गेट राख्न सकिने उनले सुनाईन् । ‘एकैसाथ १२ देखि १८ जनासम्म खेलाउन सकिन्छ ।’ उनले भनिन–‘फाईनल भने १० जना खेलाउन सक्ने गरी बनाउनुपर्छ । रेन्ज अफिसरले हेर्नुपर्छ । दर्शकको लागि पनि प्यारापिट बनाउने स्पेस हुनुपर्छ ।’ तार्केटको लेन्स फरक पर्ने भएकोले पनि १० मिटर र २५ मिटरको लागि छुट्टाछुट्टै पुर्वाधार बनाउनुपर्ने उनको जोड थियो । पुर्वाधार तयार पारेपनि तार्गेट हान्ने पेष्तोल र राईफलको अभाव भने छ ।

गण्डकी प्रदेशमा सुटिङ रेन्ज नै छैन् । बाग्लुङमा सुटिङकै पुर्व ओलिम्पियन खेलाडी केसीले आफनै बलबुतामा प्रशिक्षण दिदैं आएकी छन् । उनकै घरमा गरिएको प्रशिक्षणले गत बैशाखमा नेपालगन्जमा आयोजित आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशले दुई वटा स्वर्ण पदक जितेको थियो । अब नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता घरेलु प्रदेशमै आयोजना र पुर्वाधार तयार हुने आशा र विश्वासले अझ पदक जित्ने सम्भावना रहने क्षेत्रीय खेलकुद विकास समितिले औल्याएको छ ।

पोखरामा यतिबेला १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग)को पुर्वाधार तयारीको लागि दौडधुप छ । प्राविधिक समेत खटिएका छन् । हरियाली बनाउनेदेखि पुर्वाधारको लागि टेण्डर प्रक्रियामा लैजाने योजना समेत बनाईसकिएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै लागि पोखरा रंगशालाभित्र स्वीमिङ पुल निर्माण गर्नुपर्ने खाँचो छ । समयमै टेण्डर प्रक्रिया नथाल्दा समयमै बन्ने सम्भावना नहुने खेलकुदकर्मी बताउँछन् ।

कमेन्टहरु
Loading...