मादी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

पोखरा , २९ चैत्र /मादी गाउँपालिका कास्कीको आयोजनामा आजदेखि गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड भलिबल प्रतियोगिता शुरु भएको छ । मादी गाउँपालिकाको कार्यालय याङजाकोटमा शुरु भएको प्रतियोगितामा गाउँपालिकाभित्र रहेका १० वटा माध्यामिक विद्यालयहरुको सहभागिता रहेको छ ।

प्रतियोगिताको बिहिबार​ एक समारोहका बीच गण्डकी प्रदेशका सांसद मनबहादुर गुरुङले उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै उनले बेला बखत आयोजना भईरहने खेलकुद प्रतियोगिताले मानिसको स्वास्थ्य मात्र राम्रो नभई सकरात्मक सोंचको समेत विकास हुने बताए । साथै खेलकुदले मान्छेलाई अनुसाशित हुन सिकाउने र आफू मात्रै नभई आफनो देशलाई समेत अन्तराष्ट्रिय जगतमा चिनाउन ठूलो मद्दत गर्ने भन्दै खेलकुद क्षेत्रमा युवाहरुको राम्रो भविष्य रहेको बताए ।

देश संघिय संरचनामा गएपछि पहिलो पटक गाउँपालिका स्तरमा भएको यो प्रतियोगिताले गाउँपालिकालाई एक सुत्रमा बाँध्ने काम गरेको उनको भनाई छ ।अर्को फरक प्रशंगमा बोल्दै उनले अब छिटै नै कम्तीमा पनि मादी गाउँपालिका भित्रको मुख्य तीन वटा सडकहरु पोखरादेखी राखी मिजुरे, याङजाकोट र सिक्लेस जोडने बाटो पक्की बन्ने बताए । गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका प्रत्येक घरमा धारा र विजुली पुरयाउने लक्ष्य राखेको भन्दै अब गण्डकी प्रदेशको कुनै पनि नागरिक अत्यावश्यक सेवा सुविधाबाट बञ्चित हुन नपर्ने बताए ।

कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै मादी गाउँपालिका कार्यकारी अधिकृत युवराज अधिकारीले गाउँपालिकाले पहिलो पटक खेलकुद प्रतियोगिताको आयोजना गरेको भन्दै आउने वर्षहरुबाट यस प्रतियोगितालाई अझै व्यवस्थित र धेरै भन्दा धेरै खेलहरु समावेश गरिने बताए ।

कार्यक्रममा सम्पूर्ण विद्यालयको प्रधानाध्याकहरुको तर्फबाट ध्रुव मा.वि.का प्र.अ. शुक्रराज सापकोटा, सम्पूर्ण वडा अध्यक्षहरुको तर्फबाट मादी ४ का वडा अध्यक्ष सत्यराज सापकोटा, नेकपाका प्रतिनिधि जेमप्रसाद गुरुङ, नेपाली काँग्रेसका मादी गाउँपालिका संयोजक देवीजंग गुरुङ लगायतले खेलकुदको महत्वका बारेमा आफनो भनाई राखेका थिए ।

उद्घाटन अघि १० वटै विद्यालयका खेलाडीहरुले मार्चपास समेत गरेका थिए ।मादी गाउँपालिकाको आयोजना र मिलन युवा क्लब याङजाकोटको समन्वयमा भएको प्रतियोगिता भोलिसम्म चल्ने छ । मादी गाउँपालिकाका उपाध्यक्ष विष्णुमाया आचार्य पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन गाउँपालिकाका शिक्षा विभाग प्रमुख हिमलाल शर्माले गरेका थिए ।

कमेन्टहरु
Loading...