प्याराग्लाईडिङ वल्र्डकप–एशियन टुर, व्यक्तिगत तथा टिम प्रतिस्पर्धामा कोरिया शीर्ष स्थानमा

पोखरा, १५ फागुन/ तीन दिनको खराब मौसमपछि पोखरामा आयोजित प्याराग्लाईडिङको वल्र्डकप–एशियन टुर २०२० को पहिलो टास्क पुरा भएको छ । पहिलो दिनको टास्क पुरा गर्ने क्रममा टिम कोरिया र व्यक्तिगत पुरुष तर्फ पनि कोरियन खेलाडी शीर्षस्थानमा छन् । नेपाल खेलाडी युकेश गुरुङ भने व्यक्तिगत क्रसकन्ट्री विधामा चौथो स्थानमा रहेर वल्र्डकप टुरको पहिलो दिनको टास्क टुंग्याएका छन् ।

नेपाल हवाई खेलकुद संस्था(ना)को आयोजनामा सञ्चालित वल्र्डकप –एशियन टुरको पहिलो दिन ४० किलोमिटरको टास्क पुरा गदै व्यक्तिगत तर्फ कोरियन पाईलट चिक योङले ७५० अंकसहित अग्रता लिएका छन् । उनलाई कोरियन पाईलट जोङम्यान चोयले पछ्याईरहेका छन् । चोयले ७४४ अंक जोड्दै दोस्रो स्थानमा रहेका छन् । कोरियाकै मुन्सिभ लिम भने तेस्रो स्थानमा रहदे । उनको ७३७ अंक छ ।

नेपालका युकेश गुरुङ भने ७१४ अंक सहित चौथो स्थानमा छन् । नेपालले गत वर्ष इण्डोनेसियामा आयोजित एशियन गेम्समा प्याराग्लाईडिङ टिम इभेण्टको क्रसकन्ट्रीमा ऐतिहासिक रजत पदक जित्दा युकेश महत्वपूर्ण पाईलट(खेलाडी)को रुपमा रहेका थिए ।

टिम क्रसकन्ट्रीको प्रतिस्पर्धामा कोरिया शीर्ष स्थानमा छ । कोरियाले २० अंक ल्याउदाँ नेपाली टोली दोस्रो स्थानमा छ । नेपाली टोलीले १७ अंक प्राप्त गरेको छ । त्यसैगरी टिम एभरेष्ट नेपालले १४ अंकसहित तेस्रो स्थानमा छ । टिम इभेण्टको क्रसकन्ट्रीमा ४–४ जना पाईलट हुन्छन् । प्रत्येक पाईलटले पुरा गरेको टास्क अनुसार प्राप्त नम्बर जोडिन्छ ।

महिला तर्फको इभेण्टमा भने अमेरिकन पाईलट ग्यालेनले २०६ अंकसहित शीर्षस्थानमा छिन् । कोरियन पाईलट यना लि दोस्रो स्थानमा रहने क्रममा १५५ अंक छ । त्यसैगरी स्वीस पाईलट सुशान भने ६८ अंकसहित तेस्रो स्थानमा रहेको नेपाल हवाई खेलकुद संस्था(ना)का निवर्तमान अध्यक्ष एवं संयोजक योगेश भट्टराईले बताए । उनका अनुसार बिहीबारको टास्क ५२ जना पाईलटले पुरा गरेका थिए ।

वल्र्डकप–एशियन टुरमा १९ देशका ८९ पाईलट सहभागि छन् । आयोजनाले पोखराको पर्यटनलाई प्याराग्लाईडिङ मार्फत साहसिक गन्तव्यस्थलको रुपमा विश्वमाझ परिचित गराएको छ । वल्र्डकप–एशियन टुरले पोखरालाई साहसिक पर्यटनको गव्तव्यसँगै नेपाल सरकारले भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन एवं सकारात्मक सन्देश प्रवाह गरेको छ । कोरोना भाईरसको संक्रमणले प्रत्यक्ष असर पु्रयाउँदा चीन लगायत केही देशका पाईलट पोखरा आउन असमर्थ रहे ।

पोखरामा पहिलो पटक ‘प्याराग्लाईडिङ वल्र्डकप टुर’ आयोजना गरिएको हो । विश्वका उत्कृष्ट पाईलटहरुले क्रसकन्ट्रीमा एकसाता प्रतिस्पर्धामा रहेपनि तीन दिन मौसमले उडान हुनै सकेन् । सहभागि पाईलटले अब दुई दिन उडान भर्ने छन् । दुईदिनपछि समग्र नतिजासँगै विजेता घोषणा गरिने छ ।

शुक्रबार दोस्रो दिनको टास्क भने मौसम अनुसार निर्धारण हुने नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले बताए । उनका अनुसार प्रत्येक दिन फरक फरक टास्क हुन्छ । अमेरिका, कोरिया, फ्रान्स, जापान, कोरिया, बेलायत, भारत, इरान, चेकोस्लोभाकिया, स्वीस, अष्ट्रिया लगायतका देशका पाईलटको सहभागिता रहेको छ ।

कमेन्टहरु
Loading...