पिपिएलमा अपराजित हुदै चितवन फाईनलमा

पोखरा, ८ पुस/ पोखरा प्रिमियर लिग फ्रेन्चाईज टी–२० क्रिकेट प्रतियोगितामा चितवन राईनोजले अपराजित यात्रालाई कायम राख्ने क्रममा मंगलबार काठमाडौं गोल्डेन्स वारियर्सलाई ६० रनले पराजित गरेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा प्ले अफको ढोका खोल्ने सम्भावना काठमाडौंको लागि हारसँगै कमजोर बनेको छ ।

फराकिलो रनको हारले तनाबमा रहेको काठमाडौं प्ले अफमा पुग्न बुटबलले विराटनगरलाई पराजित गरे पुग्छ । अन्यथा विराटनगरको जितले काठमाडौंको पोखरा यात्रा विट मार्ने छ । विराटनगरले बुटबललाई ४० रन भन्दा बढीले जितेको अवस्थामा काठमाडौं बाहिरिने छ । भोलिको खेल विराटनगर र बुटवल बीचको नजितासँग नेटरनरेटले मात्रै काठमाडौंको भाग्यको फैसला गर्ने छ ।

टस जितेर काठमाडौंले चितवनलाई व्याटिङको निम्तो दियो । चितवनका अलराउण्डर करण केसी ओपनिङ सम्हाल्ने दोस्रो ओभरमा १ रनमै आउट भए । सुशान भारीको बललाई हिट गर्न खोज्दा विकेट किपरको हातबाट क्याच आउट हुन पुगे । काठमाडौंका लागि सुशान भारीले ३ ओभर बलिङ गर्ने क्रममा १ मेडन राख्दै १७ रनमा १ विकेट लिए ।

करणलाई १ रनमै गुमाएपछि बावर हायात क्रिजमा आए । बावरले ओपनर रोहन मुस्तफासँग दोस्रो विकेटको लागि ११९ रनको साझेदारी गरे । बावरले ७० रन बनाए । महत्वपूर्ण इनिङ्स खेल्ने क्रममा उनले ४७ बलमा अर्धशतकीय पारी खेल्दै ठोस इनिङ खेले । ३ चौका र ६ छक्का हिर्काए । उनी बसन्त रेग्मीको बलमा बोल्ड भए । रोहनले आरिफ शेखसँग तेस्रो विकेटको लागि २९ रनको साझेदारी गरे । पटेल पनि १५ रनमै आउट भए । ४ विकेट गुमाएको चितवनले १६७ रन बनाउँदा रोहन मुस्तफा भने ५९ रनमा अविजित रहे । उनले ५२ बल खेल्दै ६ चौका र १ छक्का हिर्काए ।

१६८ रनको लक्ष्य पछ्याएको काठमाडौं गोल्डेन्स वारियर्सलाई पहिलो ओभरमै झट्का लाग्यो । करण केसीले भुवन कार्कीको हातबाट ओपनिङ गर्न आएका जयकृष्ण कोल्सावाललाई आउट गरे । सन्नी पटेलले दुई विकेट लिने क्रममा केवल ३ ओभर खर्चिए । अमित श्रेष्ठ र गौरब तोमरलाई सस्तैमा पवेलियन फर्किएपछि काठमाडौंलाई विकेट जोगाउन सम्हालिनु पर्यो । अमित एलबी डब्लुको धरापमा परे ।

१८ रन बनाउने क्रममा ३ विकेट गमाएको काठमाडौंको इनिङलाई कप्तान ज्ञानेन्द्र मल्लले धैर्यता देखाए । पवन सर्राफसँग कप्तान मल्लले ४४ रनको साझेदारी निभाए । पवन सर्राफ रामनरेश गिरीको बलमा आउट हुदाँ २७ रन बनाएका थिए । उनले १९ बल खेल्ने क्रममा ४ चौका र १ छक्का स्कोरबुकमा लेखाए । काठमाडौंको आशा र भरोसाको केन्द्रविन्दु कप्तान मल्ल आउट भएपछि काठमाडौंको जितको सम्भावना कमजोर देखियो । कप्तान मल्ल ४० रनमा आउट भए ।

३९ बल खेल्ने क्रममा भुवन कार्कीको बलमा चितवन राईनोजका कप्तान पारस खड्काको हातबाट क्याच भए । ३ चौका र २ छक्का हान्दै स्कोर उकास्दै जितसम्म डोहोर्याउने अभियानमा ठेस लाग्यो ।छैटौं विकेटको रुपमा पृथु बास्कोटालाई गुमायो । १८ रनमा खेलिरहेका उनलाई पारस खड्काले रोहन मुस्तफाको हातबाट क्याच गराए । २३ बल खेल्दै विकेट जोगाउन उद्दत रहेपनि पृथु अफसल भए । १७ औं ओभरमा काठमाडौंले दिपेश भण्डारीलाई गुमायो ।

१६.४ र १६.५ ओभरमा रोहन मुस्तफाले दिपेश र बसन्त रेग्मीलाई पवेलियन पठाए । त्यो ओभरमा मुस्तफाले मेडन ओभर राखे । ३ ओभरमा १ मेडन राख्दै ६ रन मात्रै खर्चिए । दुई विकेट लिए । सन्नी पटेलले अन्तिम ओभरमा मेडन राख्दै १ विकेट लिदैं आफनो नाममा ३ विकेट लेखाए । काठमाडौं ९ विकेट गुमाउँदै १०७ रनमा समेटिदैं ६० रनले पराजित हुन पुग्यो । म्यान अफ दि म्याच रोहन मुस्तफा घोषित भए ।

कमेन्टहरु
Loading...