पिपिएल (PPL) मा चितवनको लगातार चौथो जित

पोखरा, ६ पुस / सन्नी पटेलको पोखरा प्रिमियर लिग (PPL) मै उत्कृष्ट स्पेल तथा करण केसी र भुवन कार्कीको लोभलाग्दो प्रदर्शन गरेपछि विराटनगर टाईटन्सलाई १२८ रनमै समेट्दै चितवन राईनोजले १८ रनको जित निकाल्दै फाईनल नजिक पुगेको छ ।

सन्नीले चार ओभरमा दुई मेडन राखे । पिपिएलमा यो सबैभन्दा उत्कृष्ठ स्पेल हो । उनले १० रन खर्चिएर १ विकेट लिए । उनीसँगै करण केसी र भुवन कार्कीले समान ३–३ विकेट लिएपछि १४७ रनको लक्ष्य पछ्याएको विराटनगर १२८ रनमै समेटियो । म्यान अफ दि म्याच भुवनले ३ ओभरमा १४ रन खर्चिर ३ विकेट लिएका थिए ।

विराटनगरका कप्तान प्रदीप ऐरी ९, नोमन खान १८ र राजु रिजाललाई १ रनमै पवेलियनको बाटो देखाएपछि जितसम्म लम्किने आशामा तुषारापात हुन पुग्यो । हारसँगै विराटनगरको प्ले अफ कमजोर बनेको छ ।

मोहम्मद जैद आलमलाई १ रनमै गुमाएको विराटनगरले दोस्रो विकेटको रुपमा अर्का ओपनर सुनिल धमलालाई ५ रनमै गुमायो । प्रदीप ऐरीले पनि कप्तानी जिम्मेवारीसहितको इनिङस खेल्नबाट चुके । उनलाई कार्कीले १९ रन खेल्दै ९ रनमा क्रिजमा छदाँ आउट गरे । एकपछि अर्को गरी विकेट झरेपछि विराटनगरका व्याट्सम्यानले महत्वपूर्ण साझेदारी निभाउनै सकेनन् । नोमन खान व्यक्तिगत १८ रनमा आउट हुन पुगे ।

पुनित मेहराले २४ रनमा गुमाएको विराटनगरलाई उकास्ने काम भने आठौं नम्बरका आएका लोकेश बामले अर्धशतकीय पारी खेल्दै जितको आधार तयार पार्ने अवस्थामा पुर्याए । बामले इनिङ्स सम्हाल्दै ६२ रन बनाउने क्रममा ३६ बल खेले । ५ चौका र ५ छक्का हिर्काए । उनलाई करण केसीले विकेट किपर अनिलकुमार साहको हातबाट क्याच गराए । बामको विकेटपछि जितेन्द्र मुखिया शुून्यमै र शाहब आलमलाई केसी एकरनमै पवेलियन फर्काए । केसीले ४ ओभरमा ३३ रन खर्चिएर ३ विकेट लिएका थिए ।

टस हारेर व्याटिङको निम्तो पाएको चितवन राईनोजले ४ विकेटको क्षतिमा १४६ रन बनाएको थियो । पाँचौ विकेटको लागि आरिफ शेख र सन्नी पटेलले ६४ रनको साझेदारी गर्दै अविजित रहे । आरिफले २२ बलमा ३९ रन बनाउँदा ३ चौका र ३ छक्का व्याटबाट निस्कियो । पटेलले पनि ८ बलमा २७ रन हिर्काउने क्रममा १ चौका र ३ छक्का स्कोर खातामा चढाए । रोहन मुस्तफालाई ७ रनमै जितेन्द्र मुखियाले राजु रिजालको हातबाट क्याच गराउँदै चितवन माथि दबाव सृजना गरे ।

चितवनका कप्तान पारस खड्काले तेस्रो नम्बरमा आएकार बाबर हायातसँग महत्वपूर्ण साझेदारी निभाए । २५ रनमा बाबर आउटभएपछि अनिलकुमार साहसँग पारसको जोडी खासै प्रभावकारी भने रहेन् । ३८ बल खेलेको पारसले ३५ रन बनाउँदा ५ चौका हिर्काए । बावरले पनि ३१ बल खेल्दै २५ रन जोडे । साहलाई ३ रनमा गुमाएपछि चितवनको इनिङ्सलाई आरिफ र सन्नी पटेलले ओभरको अन्त्य सम्म सम्हाले ।

कमेन्टहरु
Loading...