पोखरा सोमबारदेखि आईटिएफ जुनियर टेनिस प्रतियोगिता

पोखरा, २३ माघ/ अन्तराष्ट्रिय टेनिस फेडेरेशन (आईटिएफ) को जुनियर यु–१८ सर्किट–१ टेनिस प्रतियोगिता पोखरामा शनिबारदेखि हुने भएको छ । औपचारिक खेल भने सोमबारदेखि शुरु हुने छ । कास्की जिल्ला टेनिस संघको व्यवस्थापनमा आयोजना हुने प्रतियोगितामा नेपालबाट महिला तर्फ ६ र पुरुष तर्फ ६ गरी १२ खेलाडीले सहभागिता जनाउने छन् ।

गत वर्ष आईटिएफ जुनियर र्याङकिङ टेनिस सर्किट १ र २ पोखरामै आयोजना गरिएको थियो । यो वर्षको प्रतिस्पर्धामा विभिन्न १९ देशका खेलाडी सहभागि हुने प्रतियोगिताका संयोजक एवं कास्की जिल्ला टेनिस संघका सल्लाहकार सुर्य भुजेलले बताए ।

गत वर्ष भने २९ देशका खेलाडीले अंक प्राप्तको लागि प्रतिस्पर्धा गरेका थिए । नेपाल सहित भारत, सर्विया, अमेरिका,अष्ट्रेलिया, जापान, मलेसिया, कोरिया, सिंगापुर, जर्मन, क्यानडा लगायत १९ देशका ६४ खेलाडीले अन्तिम प्रतिस्पर्धा गर्ने उनले बताए । महिला तर्फ ३२ र पुरुष तर्फ ३२ जना खेलाडीले अंक प्राप्त गर्नको लागि एकापसमा भिड्ने छन् ।

यु–१६ का नेहाल जंगबहादुर थापा, श्रेया भट्टराई र सौगात विक छन् । प्रतियोगितामा सहभागिता गराउने विषयमा भने आईटिएफले नै निर्णय गर्ने कास्की जिल्ला टेनिस संघका अध्यक्ष दोर्जे लामाले बताए । उनका अनुसार यो प्रतियोगिताले नेपाल सरकारले तय गरेको भ्रमण वर्षलाई टेवा पुर्याउने छ । प्रतियोगिता सम्पन्न गर्न कबिर १२ लाख रुपैया लाग्ने आयोजकको अनुमान छ ।

कमेन्टहरु
Loading...