पोखरा स्पोर्टस् अवार्ड जेठ २४ हुने, विभिन्न उपसमिति गठन

पोखरा, १८ वैशाख/नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने चौथो पोखरा स्पोर्टस् अवार्डको मिति तय भएको छ । मञ्चको बुधबार सम्पन्न पाँचौ बैठकले जेठ २४ गते शुक्रबार पोखरा सभागृहमा अवार्ड गर्ने निर्णय गरेको हो ।

सोको तयारीका लागि अध्यक्ष एकराज गिरी मूल आयोजक संयोजक रहने गरी विभिन्न १२ वटा उपसमिति समिति गठन गरिएको छ ।

सल्लाहकार उपसमिति संयोजकमा रामकृष्ण ज्ञवाली, आर्थिक व्यवस्थापनमा शशीकुमार पौडेल, प्रचारप्रसारमा विजय नेपाल, सांस्कृतिकमा सुशील नेपाली, खाजा÷खानामा रोशन अधिकारी, मञ्च तथा हल व्यवस्थापनमा मन क्षत्री, फोटोग्राफी/भिडियोग्राफीमा उमेश पुन, स्वयंसेवकमा अर्जुन गिरी, प्रमाणपत्र तथा ट्रफी व्यवस्थापनमा रञ्जन अधिकारी, चिठीपत्र तथा व्यानर व्यवस्थापनमा राजाराम पौडेल, अतिथि सत्कारमा कविता घर्तीमगर र वैदेशिक समन्वयमा केशव पाठक संयोजक चयन भए ।

उपसमिति संयोजकले अन्य सदस्य थप गरी मञ्चको बैठकमा जानकारी दिनुपर्ने छ । सल्लाहकार उपसमितिमा भने मञ्चका सल्लाहकार तथा पत्रकारसम्बद्ध विभिन्न संघसंगठनका अध्यक्ष स्वतः सदस्य रहनेछन् भने मञ्चका सबै ५१ सदस्य मूल आयोजक समिति सदस्य रहनेछन् ।

यस्तै, बैठकले मञ्चका साधारण सदस्य दुर्गाप्रसाद पौडेल नेपाल लाइफ फोटोपत्रकारिता अवार्ड–२०७५ अन्तर्गत गण्डकी प्रदेश फोटोपत्रकारिता अवार्डबाट पुरस्कृत भएकोमा बधाई ज्ञापन गरेको छ । ‘समृद्धिका लागि खेलकुद’ नाराका साथ हुने सो अवार्डमा विभिन्न सात विधामा अवार्ड वितरण गरिनेछ ।

कमेन्टहरु
Loading...