पोखरा स्पोर्टस् अवार्डः युकेश र सुष्मी वर्ष खेलाडी घोषित

पोखरा, २४ जेठ /चौथो टीभीएस अपाचे पोखरा स्पोर्टस् अवार्ड–२०७५ मा युकेश गुरुङ र सुष्मी श्रेष्ठ वर्ष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शुक्रबार पोखरा सभागृहमा भएको समारोहमा प्याराग्लाइडिङका युकेश गुरुङ पुरुषतर्फ वर्ष खेलाडी घोषित हुँदै टीभीएस अपाचे मोटरसाइकल पुरस्कार पाए ।

त्यसै गरी फूल कन्ट्याक्ट कराँतेकी श्रेष्ठले महिलातर्फ वर्ष खेलाडी घोषित हुँदै वीगो स्कूटर चढिन् । वर्ष चर्चित खेलाडीको उपाधि सुटिङकी श्रेया केसीले जित्न सफल भइन् । एसएमएस भोटिङ आधारमा उनले सर्वाधिक मत प्राप्त गर्दै २५ हजारसहित वर्ष चर्चित खेलाडी बन्न सफल भएकी हुन् ।

यस्तै, उदियमान खेलाडीतर्फ क्रिकेटका अर्जुन कुमाल र वर्ष उत्कृष्ट प्रशिक्षकमा फूल कन्ट्याक्ट कराँतेका दीपक गोदारले उपाधि हात पारे । उनीहरुले जनही २५ हजार रुपैयाँ प्राप्त गरे । लाइफटाइम अचिभमेन्ट अवार्डबाट बक्सिङका चित्रबहादुर गुरुङलाई सम्मान भए । वर्ष उत्कृष्ट पत्रकार पुरस्कारबाट विनोद लामिछाने २० हजार सहित पुरस्कृत भए । वर्ष उत्कृष्ट खेल संघ अवार्ड जिल्ला बास्केटबल संघ कास्कीलाई १५ हजार रुपैयाँ सहित सम्मान भयो ।

वर्ष उत्कृष्ट पुरुष, महिला, उदियमान र प्रशिक्षक विधामा यसअघि नै उत्कृष्ट ३ को मनोनयन सार्वजनिक गरिएको थियो । वर्ष खेलाडी पुरुष युकेश गुरुङको अनुपस्थितिमा उनको बुबाले अवार्ड थापेका थिए । पोखरा लेकसाइडका १८ वर्षीय युकेश आठौं राष्ट्रिय खेलकुदमा टिमतर्फ क्रसकन्ट्री इभेन्ट्समा स्वर्ण र इण्डोनेसियामा भएको एशियन गेम्समा टिमतर्फ क्रसकन्ट्री इभेन्ट्समा स्वर्ण जित्न सफल भएका थिए ।

वर्ष खेलाडी महिला घोषित २१ वर्षीय श्रेष्ठ स्याङ्जा भीरकोटकी हुन् । उनले आठौं राष्ट्रिय खेलकुदमा खुला तौल समूहमा कास्य, सेकेण्ड साउथ एशियन रिजनल कन्ट्रिज क्युकोसिन कराँतेमा खुला तौल समूहमा स्वर्ण, २९ औं यूरोपियन च्याम्पियनसीपमा खुला तौल समूहमा काँस्य जितेकी थिइन् ।

उनीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ, सामाजीक विकास मन्त्री नरदेवी पुन, पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङ, छनोट समिति संयोजक एवं मञ्च संसथपक अध्यक्ष रामकृष्ण ज्ञवाली, पत्रकार महासंघ गण्डकी अध्यक्ष त्रिभुवन पौडेल, मञ्च अध्यक्ष एकराज गिरी लगायतले अवार्ड तथा सम्मान प्रदान गरेका थिए ।

कमेन्टहरु
Loading...