पोखरामा दोश्रो सृजना कप छात्र/छात्रा भलिबल बुधबारदेखि

पोखरा, ६ फागुन/ पोखरामा बुधबार देखि सृजना कप सामुदायीक मावि छात्र/छात्रा भलिबल प्रतियोगिता शुरु हुँदैछ । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा पोखरा रंगशालास्थित भलिवल ट्रेनिङ सेन्टरमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकहरुले जनाएका छन् ।

फागुन १० गतेसम्म हुने प्रतियोगिताको बुधबार दिउँसो राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले उद्घाटन गर्ने कार्यक्रम तय भएको कास्की जिल्ला भलिवल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत बुधबार छात्रतर्फ भद्रकाली मावि र गौरीशंकर मावि, माछापुच्छ्रे मावि र शुक्ला गण्डकी मावि, तालवाराही मावि र शुक्रराज मावि, वाराही मावि र नवीन मावि, विन्दबासिनी मावि र पार्दी मावि, मेश्रम बराह मावि र शिद्ध बराह मावि, छोरेपाटन मावि र जनप्रकाश मावि तथा रत्नशोभा मावि र शान्ती मावि प्रतिष्पर्धामा उत्रिने अध्यक्ष पराजुलीले जानकारी दिए ।

त्यस्तै, छात्रातर्फ कालिका मावि र छोरेपाटन मावि, वाराही मावि र अमरसिंह मावि, विन्दबासिनी मावि र गौरीशंकर मावि, सिद्ध बराह मावि र महेन्द्र मावि प्रतिष्पर्धामा उत्रिने उनले बताए ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका हुने प्रतियोगितामा छात्रतर्फ २७ र छात्रातर्फ १५ गरि कुल ४२ टिमले प्रतिष्पर्धा गर्ने सृजना विकास केन्द्रका अध्यक्ष मिनप्रसाद भट्टराईले बताए । प्रतियोगितामा कास्कीका सामुदायिक (सरकारी) विद्यालयहरुले मात्र सहभागिता जनाउँदैछन् । प्रतियोगितामा कक्षा १२ सम्मका विद्यार्थीहरु मात्र सहभागि हुन पाउनेछन् ।

प्रतियोगितामा उपाधि बिजेता छात्र÷छात्रा दुबै तर्फकालाई ५०/५० हजार, उपबिजेतालाई ३०/३० हजार र तृतीय हुने विद्यालयलाई १५/१५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । त्यस्तै, प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी छात्र तथा छात्रालाई जनही ५/५ हजारसहित ट्रफी तथा अन्य उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षकलाई १/१ थान भलिबल प्रदान गरिने सृजना विकास केन्द्रका प्रथम उपाध्यक्ष ईन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

कमेन्टहरु
Loading...