महानगरपालिकाको योजना–हाई अल्टिच्युड खेल मैदान शुरु

पोखरा, ११ असार/अबको केही वर्षमा शहरबाट गाउँमा फुटबल हेर्न दर्शक उक्लिने छन् । महानगरपालिकाले त्यसको लागि आवश्यक गृहकार्य शुरु गरिसकेको छ । फुटबल मैदान बनाउन महानगरपालिको वडा नं २० आँटीघर मौजामा खेल मैदान निर्माण गर्ने योजना अघि सारेको छ । त्यो पनि महानगरपालिकाकै सबैभन्दा उचाईमा फुटबल मैदान बन्ने छ ।

महानगरपालिकाले आफनो पाँचौ नगरसभा मार्फत पोखरा–२० आँटीघर मौजामा हाई अल्टिच्युड खेल मैदान निर्माण गर्ने योजना अघि सारेको छ । खेल मैदान गतवर्षदेखि निर्माण शुरु गरिएको हो । त्यसलाई पूर्णता दिने योजनासहित महानगरपालिकाका मेयर मानबहादुर जिसीले नीति तथा कार्यक्रम सार्वजनिक गरे । ‘महानगरपालिकाले हाई अल्टिच्युड खेल मैदान निर्माण गर्ने छ ।’ उनले आईतबार आयोजित नीति तथा कार्यक्रममा भने ।

गत वर्ष नै १७ सय मिटर उचाईमा रहेको मौजामा डाडाँ कटान गरी मैदान निर्माण कार्य शुरु गरिएको थियो । यो कास्कीकै अग्लो स्थानको फुटबल मैदान बन्ने विश्वास वडाध्यक्ष सीम गुरुङले बताए । एक दशकअघि मेला र महोत्सव गर्ने स्थललाई अन्तराष्ट्रिय मापदण्डको फुटबल मैदान स्थानीयबासी कस्सिएका हुन् । आँटीघर मौजाको थाप्लोमा रहेको सार्वजनिक जग्गामा निर्माण शुरु गरिएको छ । मैदान भन्दा उत्तर तर्फ भने मानवबस्ती छैन् । घनाजंगल छ ।

‘महानगरपालिकाले ७ लाख ५० हजार र वडाले १ लाख गरी ८ लाख ५० हजार रुपैयाँ बजेट दिएका छौं’,पोखरा लेखनाथ महागनरपालिका वडा नं २० का अध्यक्ष गुरुङले भने—‘मैदान निर्माणपछि स्पोर्टस टुरिज्म प्रोमोसनमा जुट्ने छौं ।’ उनले मैदानसँगै अतिथिहरुको लागि होम स्टेको शुरुवात समेत भईसकेको बताए । हाईअल्टिच्युड खेल मैदानलाई महानगरपालिकाले आफनो गौरवको आयोजनाको रुपमा राखेको उल्लेख गर्दै वडाध्यक्ष गुरुङले यो वर्ष बढीमा एक करोड रुपैयाँ छुट्टाईने योजना सुनाए ।

गाँउै होम स्टे शुरु गरिदैं छ । होम स्टेको लागि आवश्यक पुर्वाधारको कामहरु भईरहेका छन् । ‘पुर्वाधार सकिएपछि होम स्टे शुरु गरिने छ’ उनले भने–‘खेलाडीलाई होम स्टेमा राखेर फुटबलको बन्द प्रशिक्षण गरिने योजना छ ।’ त्यसैले पनि यसलाई महानगरपालिकाले गौरव आयोजनाको रुपमा लिएको हो । मैदानको लागि अब केही दिन भित्रैमा विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनाईने वडाध्यक्ष गुरुङले सबताए । ‘महानगरपालिकासँगै संघीय सरकारसँग मैदान निर्माण गर्न बजेटको लागि प्रस्ताव गर्ने छौं ।’ उनको भनाई थियो ।

फुटबल मैदान निर्माण भएपछि होमस्टेलाई प्रभावकारी बनाउन सकिए आँटीघर मौजा खेल मैदानमा राष्ट्रियस्तरकै प्रतियोगिता सञ्चालन गर्न सकिने उनको भनाई थियो । फुटबल मैदान बनाउन एक करोड भन्दा बढी रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । मैदान अन्तराष्ट्रिय मापदण्ड अनुसारकै निर्माण हुने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका इन्जिनियर प्रनिस ताम्राकारले बताए ।

उनले सर्भे नगरिकन काम गर्न नहुने जिकिर समेत गरेका छन् । ‘डाडाँ खारे ११० मिटर लम्बाई ६५ मिटर चौडाईको फुटबल मैदान बन्छ’ उनले भने–‘नेचुरल(प्राकृतिक) प्यारापिट समेत बनाउन सकिने सम्भावना छ ।’ दुई मिटर डाडाँ कटान गरेर खार्नुपर्ने उनको भनाई थियो । सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा एक खेल मैदान बनाउने निर्णय गरेको छ । त्यसै अनुरुप पनि गाँउ गाउँमा खेलकुदको पुर्वाधार धमाधम बन्दै गएका छन् ।

पोखरामा दक्षिण एशियाली खेलकुद प्रतियोगिताको लागि आवश्यक तयारी गरिरहँदा पोखरा महानगरपालिकाले आफनो नीति तथा कार्यक्रम मार्फत लामाचौरस्थित गोस्ते खेल मैदान निर्माण गर्ने योजनालाई प्राथमिकतामा राखेको छ । राष्ट्रिय खेलकुद परिषदको आर्थिक सहयोग र स्थानीय लामाचौर खेल मैदान निर्माण उपभोक्ता समितिको सक्रियतामा पोखरा –१९ लामाचौरमा खेल मैदान निर्माण गरिएको छ ।

मैदानको स्तरोन्नतिसहित भौतिक पुर्वाधार बनाउन परिषदले युवा तथा खेलकुद मन्त्रालय मार्फत १ करोड रुपैयाँ छुट्टाईसकेको छ । त्यही मैदानलाई पोखरा महानगरपालिकाले पनि निर्माण गर्ने योजनासहित आफनो पाँचौ नगरसभामा सम्बोधन गरिएको छ । गोस्ते खेल मैदान निर्माणमा हालसम्म साढे दुई करोड रुपैयाँ खर्च भईसकेको छ ।

परिषदले महिला साग फुटबलको प्रशिक्षण मैदानको रुपमा विकास गर्ने योजनासहित चेन्जिङ रुम, शौचालय तथा टिमको लागि आवश्यक कोठा निर्माणको लागि १ करोड रुपैयाँ छुट्टाएको हो । त्योसँगै परिषदले पोखरा–२५ स्थित हेमजा गौरीशंकर खेल मैदानको लागि समेत बजेट छुट्टाएको छ ।

तर महानगरपालिकाले गौरीशंकर खेल मैदानलाई प्राथमिकतामा राखेको छैन् । महानगरपालिकाले गोस्तेसँगै भण्डारढी खेल मैदानमा निर्माणाधिन बहुउद्देश्यीय कभर्ड हल निर्माण टुग्याउने लक्ष्य लिएको छ । आफनै खेलग्रामको रुपमा पोखरा–१३ आर्बामा खेलकुदको पुर्वाधार निर्माण गर्ने तय गरिएको छ ।

महानगरपालिकाका मेयर मानबहादुर जिसीले गोस्ते, भण्डारढीक, आर्बाै र विजयपुरमा आधुनिक खेल मैदान निर्माण गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको सार्वजनिक गरे । ‘ती खेलमैदानको लागि अनुमानित तीन करोड रुपैयाँ बजेट राखिएको छ ।’ मेयर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले सुनाए । उनका अनुसार एक वडा एक खेल मैदानलाई समेत महानगरपालिकाले प्राथमिकतामा राख्दै निर्माण कार्यलाई निरन्तरता दिने छ ।

कमेन्टहरु
Loading...