पोखरामा अन्तराष्ट्रियस्तरको स्क्राबल प्रतियोगिता

पोखरा, २७ पुस /पोखरामा अन्तराष्ट्रियस्तरको स्क्राबल प्रतियोगिता हुने भएको छ। माघको १ गते पोखराको फूलबारीस्थित सैनिक महाविद्यालयमा स्क्राबल प्रतियोगिता हुने भएको हो। पोखरा तथा रेलो काठमाण्डौं र सैनिक महाविद्यालय फूलबारी पोखराको सहयोगमा सार्वजनिक पुस्तकालय र अमेरिकन कर्नर पोखराले स्क्राबल प्रतियोगिताको आयोजना गर्न लागेको हो।

प्रतियोगितामा नेपालका २५ र बंगलादेशका १९ जना बिद्यार्थीले प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक केशवप्रसाद पराजुलीले जानकारी दिए। गत मंसिरको १६ गते सम्पन्न तेस्रो राष्ट्रिय प्रतियोगिताबाट च्याम्पियन बनेका २५ जना नेपाली विद्यार्थीहरुले यस अन्तराष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका हुन्।

प्रतियोगितामा चार जनासम्म प्रतिस्पर्धीहरु च्याम्पिय बन्ने आयोजकले बताएको छ। स्क्राबल च्याम्पियनले ट्रफी, स्क्राबल बोर्ड, स्टेशनरी सामग्री र अमेरिकन राजदूतावासद्धारा प्रदान गरिने गिफ्ट ह्याम्परहरु पुरस्कार पाउनेछन्। मंसिर १६ गते कास्की लगायत तनहुँ, लमजुङ, रुपन्देही, बागलुङ, पर्वत र स्याङ्जा लगायत ८ जिल्लाका २७ बिद्यालयबाट ५४ जना विद्यार्थीहरुले प्रतिस्पर्धा गरेको पराजुलीले बताए। ०७२ देखि पोखरामा विद्यालयस्तरका कक्षा १० सम्मको विद्यार्थीबीच स्क्राबल प्रतियोगिताको आयोजना गर्दै आएको पराजुलीले जानकारी दिए।

पोखरा सार्वजनिक पुस्तकालयका आजीवन सदस्य समेत रहेका पराजुलीले भने, ‘तिनै ५४ जना प्रतिस्पर्धीमध्येबाट छनौट भएर आएका २५ जना विद्यार्थीहरुले बंगलादेशी विद्यार्थीहरुसंग प्रतिस्पर्धा गर्ने भएका हुन्।’ बंगलादेशबाट १९ जना प्रतिस्पर्धी विद्यार्थी, १५ जना शिक्षक र अभिभावकहरु प्रतियोगितामा सहभागिताका लागि शुक्रबारसम्म पोखरा आइपुग्ने संयोजक पराजुलीले बताए। संयोजक पराजुली लगायत पुस्तकालयकर्मी रामचन्द्र कार्की, पूर्णबहादुर राना, अंग्रेजी विषयका शिक्षकहरु प्रतियोगिता तयारीका लागि जुटेको बताइएको छ।

सन् १९३८ देखि अमेरिकाबाट सुरु भएको यस यस खेलमा २ देखि ४ जनासम्मले खेल्न सकिन्छ। १५/१५ साइजको बोर्डमा ए देखि जेड सम्मका एकसय वटा फण्ट टायलको प्रयोगबाट स्क्राबल खेल्ने गरिन्छ। स्क्राबल खेलले प्रतिस्पधीबीच भाषा बिकास, सञ्चारको सिप, सहकार्य, नयाँ शब्द सिर्जना गर्न र अंग्रेजी भाषाको बिभिन्न क्रियाकलापमा सहयोग पु¥याउँछ।

कमेन्टहरु
Loading...