पोखरामा चारदिने अन्तराष्ट्रिय साईकल रेस, नेपालीको बर्चस्व

धन बस्नेत /पोखरामा सोमबारदेखि ‘पोखरा चौथो स्टेज अन्तराष्ट्रिय साईकल रेस’ प्रतियोगिता शुरु भएको छ । पहिलो दिनको रेसमा नेपाली साइक्लिष्टले महिला तथा पुरुष दुवै विधामा बर्चस्व जमाएका छन् । यद्यपी अझै तीन दिनको टास्क भने बाँकी नै छ ।

अन्तराष्ट्रिय साईकल रेसको पहिलो दिन सोमबार कास्कीको पामेबाट शुरु भई चापाकोट, तारेभिर, भुम्दी, पुम्दी, विश्वशान्ति स्तुपा, छोरेपाटान, स्तुपा सानो ताल हुदैं पामेमै पुगेर टुंगिएको थियो । उकाली ओरालीहुदैं ग्रामीण बाटो ५० किलोमिटरको दुरी तय गर्न काठमाडौंका नारायण गोपाल महर्जनले २ घण्टा १४ मिनेट ४८ सेकेण्ड लगाए । दोस्रो स्थानमा आएका नुवाकोटका रोहन तामाङले २ घण्टा १९ मिनेट ५६ सेकेण्डमा पुरा गरे ।

ललितपुरका ओकेश बज्रचार्यले २ घण्टा २१ मिनेट ४३ लगाउँदै तेस्रो स्थानमा चिक्त बुझाए । उनी नेपाली सेनाका साइक्लिष्ट हुन् । महिला तर्फको पहिलो दिनको टास्कमा नुवाकोटकी लक्ष्मी मगर प्रथम भईन् । उनले दुरीलाई २ घण्टा ५३ मिनेट ३४ सेकेण्डमा पृुरा गरिन् । ललितपुरकी उषा खनालले ३ घण्टा १४ मिनेट २० सेकेण्डको समयमा पुरा गर्दै दोस्रो भईन् । निर्णायक शंकर भण्डारीका अनुसार काठमाडौकी रोजा केसी भने ३ घण्टा २० मिनेट ४६ सेकेण्डमा पुरा गर्दै तेस्रो हुन सफल भईन् ।

कास्की जिल्ला साइक्लिङ संघको आयोजनामा सञ्चालित चारदिनको प्रतियोगितामा सबैभन्दा कम समयमा दुरी पुरा गर्ने च्याम्पियन बन्ने छ । भोलि मंगलबार दोस्रो दिनको टास्क शुरु हुने छ । छोरेपाटन, शिवालय, कृस्ति, मट्टिखान हुदैै पुन छोरेपाटनमा आएर टुग्याइने अन्तराष्ट्रिय खेलाडी समेत रहेको निर्णायक अजय पण्डितले जानकारी दिए । उनका अनुसार दोस्रो दिनको दुरी भने ५८ किलोमिटरको छ ।

तेस्रो दिन बुधबार बेगनासबाट शुरु टास्क भने सबैभन्दा लामो दुरीको हुने छ । बेगनास, कालिका, बेगनासताल, रुपाताल हुदैं बेगनासताल किनारमा पुगेर तेस्रो दिनको दुरी ८० किलोमिटरको छ । चौथो तथा अन्तिम दिन बाटुलेचौर, डाडाँगाँउ, अर्मलाकोट, अर्मलाडिही, महेन्द्रगुफाहुदैं बाटुलेचौरमा पुगेर सकिने रेसको भने ५२ किलोमिटरको हुने छ ।

साईकल दौडको माध्यमबाट साहसिक खेलको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजित प्रतियोगिताको चारै दिनमा प्रतिस्पर्धीको समयलाई आधार मानेर विजयी घोषणा गरिने छ । विजेताले ट्रफी पाउने छ । साईक्लिङ संघले विगतमा राष्ट्रियस्तरको प्रतिस्पर्धा गरेपनि यो भने पहिलो अन्तराष्ट्रिय प्रतिस्पर्धा हो । प्रतियोगितामा जर्मनी, फ्रान्स, अष्ट्रिया, स्वीट्जरल्याण्ड, क्यानडा, स्वीडेन, अष्ट्रेलिया र श्रीलकंन खेलाडी सहभागि छन् । आर्मी तथा शसस्त्र प्रहरी बलका खेलाडीले समेत आफनो उपस्थिति जनाएका छन् । महिला तर्फ दुई विदेशी र तीन स्वदेशी छन् ।

कमेन्टहरु
Loading...