मनकामना पोखरा कपमा जापानीज टोलीले पुलिसको यात्रा टुंगियो

पोखरा, २२ माघ/विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउदै पाहुना जापानीज टोली भने मनकामना केवलकार पोखरा कपको सेमिफाईनलमा प्रवेश गरेको छ । पहिलो पटक पोखरामा उपस्थिति जनाएको जापानको रिस्हो युनिर्भसिटीको टोलीले पुलिसको चुनौतिलाई १–० ले पन्छायो । आमन्त्रित टोलीसँग नतमष्तक बनेको पुलिस सेमिफाईनल पुग्ने ढोका २० औं मिनेटमा बन्द हुन पुग्यो ।

पुलिस भन्दा केही छरिता देखिएका युनिर्भसिटीका खेलाडीले २० औं मिनेटमा गोल गर्दै पुलिस विरुद्ध अग्रता बनाए । नात्सुकी ताकेदाले मिलाईदिएको पासलाई यासुताका सुजुकीले बललाई वान टचमै पोष्टको दिशा दिएपछि पुलिस केहीछिन रनभुल्लमै पर्यो । एकपछि अर्को मुभ बनाएको जापानको आक्रमणले पुलिसका गोलकिपर पहिलो हाफ निकै व्यस्त भए । पहिलो हाफ अघि नै ताकुया हिल्तोमीले डिफेन्सलाई बिट गर्दै हानेको बल बचाउ हुदैं कर्नरको अवसर मिल्यो ।

खेलको ३३ औं मिनेटमा ताकुया हिल्तोमीको कर्नर पासलाई ताकुतो यासिन्होले हानेको हेडबल बाहिरियो । खेलको ३८ औं मिनेटमा जापानीज युनिर्भसिटीले अर्को अवसर सृजना गर्यो । दाईची ओगावाले हानेको हेडिङलाई पुलिसका कप्तान विक्रम धिमालले गोललाईनबाट क्लियर गर्दै पुलिसलाई थप संकटबाट जोगाए । गोलकिपर विट भईसकेको अवस्थामा धिमालले क्लियर गरेका थिए । ४२ औं मिनेटमा हिरोतो होसिकावाको लङ पावरसट बललाई पुलिसका गोलकिपरले बचाए ।

पुलिसका प्रशिक्षक अनन्तराज थापाले जापानीज टोलीसँग खेल्दा सिक्ने मौकाको रुपमा लिईएको प्रतिक्रिया दिए । ‘हामीले जापानीज युनिर्भसिटीको टिमसँग सिक्ने अवसर पायौं । आधुनिक फुटबल कसरी खेलिन्छ भन्ने सिक्ने अवसर रह्यो । शुरुमा देख्दा युवा टिम देखिएकोले जित्छौं भन्ने लागेको थियो । तर गोल खानु नै टर्निङप्वान्ट बन्यो ।’ उनले भने ।

दोस्रो हाफमा पुलिसले केही सुधारिएको खेल देखायो । तर स्कोर निकाल्नबाट चुकिरह्यो । गेममा आफुलाई सुधार्दै दुई उत्कृष्ठ मुभ बनायो । जुन पुलिसको लागि खेलमा फर्काउने सम्भावनाको अवसर थियो । ६९ औंं मिनेटमा भारत शाहले हानेको बललाई जापानीज गोलकिपरले बचाउ गरेपछि पुलिसभित्र निराश छायो । हरि कठायतले हानेको बल रिवाउण्ड भएपछि शाहले प्रहार गरेको बल जापानीज गोलकिपरले मुश्किलले बचाएका थिए ।

७६ औं मिनेटमा पुलिसले अर्को अवसर बनायो । भारत शाहले नै राईटसाईडबाट हानेको कडा प्रहार बचाउ भएपछि पुलिसका लागि मंगलबार जित क्षितिजमा देखियो । ‘पोखराको मैदान हाम्रो लागि नयाँ हो । नयाँ मैदानमा खेल्दा कठिनाई हुन पुग्यो । जापानको जस्तो मैदान होईन् ।’ जापानीज प्रशिक्षक टाकेस तोकाईरिनले भने–‘यात्राले खेलाडी अझै थकान छन् । थकान भएपनि खेलाडीले ९० मिनेट ज्यान दिएर खेले । खेलाडी अझै फिट छैनन् ।’ उनका अनुुसार सेमिफाईनलमा अझै सुधारिएको खेल देख्न पाईने विश्वास दिलाउँछौं । खेलमा नात्सुकी ताकेदाले म्यान अफ दि म्याचको पुरस्कार थापे ।

कास्की जिल्ला फुटबल संघको आयोजना तथा मनकामना दर्शन प्रालिको मुख्य प्रायोजनमा सञ्चालित प्रतियोगिताको अन्तिम क्र्वाटरफाईनल खेल मनाङ मस्र्याङ्दीले आयोजक एवं घरेलु टोली पोखरालाई पराजित गरेको बिग्रेड ब्वाईजसँग खेल्ने छ ।

कमेन्टहरु
Loading...