क्रिकेट मैदान संरक्षण र पुर्वाधार बनाउन ९५ लाख प्रस्ताव

पोखरा, २८ बैशाख/क्रिकेटमा नेपालले धेरै फड्को मारिसकेको छ । जिल्ला तहमा क्रिकेटको क्रेज बढ्दै गएको छ । त्यसको पछिल्लो उदाहरण नै क्रिकेट मैदानको धमाधम निर्माण । भएका मैदानहरुको स्तरोन्नति गरिएको छ । क्रिकेट मैदान निर्माणले लिएको गतिसँगै क्रिकेट खेलको विकास र विस्तार फराकिलो बन्दै गएको छ ।

पोखरा क्रिकेट मैदान एक दशक अघि निर्माण शुरु गरिएको हो । २०६४ सालमा निर्माण शुरु गरिएको मैदान अन्तराष्ट्रियस्तरको आकार लिएको छ । २०६८ सालमै निर्माणकै क्रममा राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलाईएको थियो । त्यसपछि निरन्तर विभिन्न शीर्षकमा आउने बजेटले क्रिकेट मैदानको रुप फेरिदैं गयो । २०७० सालमा अन्तराष्ट्रिय प्रतिस्पर्धामा सहभागिता जनाउन जाने राष्ट्रिय क्रिकेट टोलीको क्लोज क्याम्प पोखरामै शुरु गरिएको थियो ।

कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष डा. विरेन्द्रसिंह गुरुङको अगुवाईमा पोखरा क्रिकेट मैदान निर्माण समिति गठन गर्दै काम अघि बढाइएको थियो । समितिका अध्यक्ष समेत रहेको उनकै सक्रियता र नेतृत्वले पोखरा रंगशालाभित्रको क्रिकेट मैदानले मुहार फेरेको क्रिकेट प्रेमी सुनाउँछन् । अग्रजहरुको सक्रियतामा क्रिकेट मैदान निर्माण गरिएको थियो । निर्माणको क्रम भने अझै जारी छ ।

मैदान बनाउनकै लागि राष्ट्रिय खेलकुद परिषदसँग पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले ९५ लाख रुपैयाँको बजेट प्रस्ताव गरेको छ । प्रस्ताव गरिएको बजेटले अर्को वर्षको फागुनमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको क्रिकेट प्रतियोगिताको लागि मैदान तयारी गरिने समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले बताए । ‘९५ लाख रुपैयाँको बजेट प्रस्ताव गरेका छौं । मैदानसँगै अन्य आवश्यक भौतिक पुर्वाधार निर्माणमा खर्च गर्ने छौं ।’ उनको भनाई थियो ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका इन्जिनियर प्रनिस ताम्राकारका अनुसार प्रस्ताव गरिएको बजेटबाट मैदानको वाउण्ड्री यकिन गरी वरिपरी तारजाली लगाई संरक्षण गरिने छ । ‘मैदान संरक्षण र वरिपरी पानीको निकासको लागि डे«नेज बनाईने छ ।’ उनले भने–‘त्यसपछि मात्रै अन्य पुर्वाधारमा खर्च गरिने छ ।’ उनका अनुसार तारजाली र नालीपछि दक्षिण तर्फको भेगमा चेन्जिङ रुम, शौचालय निर्माण गर्ने योजना छ । प्यारापिट समेत निर्माण गर्नुपर्ने खाँचो छ ।

समितिले मैदानको लेभलिङ अझै उत्कृष्ठ नभएको जनाएको छ । पीच भन्दा दक्षिण तर्फ माटो फिलिङ गर्नुपर्ने खाँचो छ । ‘पीच भन्दा तलपट्टिको भागमा माटो भर्न जरुरी छ । केही भागमा अझै पनि पानी जम्छ ।’ इन्जियिनर ताम्राकारले सुनाए–‘माटो भरेर लेभलिङ गरेपछि पानीको निकासलाई नाली खन्नुपर्छ ।’

उनका अनुसार अहिले दक्षिण, उत्तर र पश्चिम तर्फ माटो भर्ने काम गरिएपनि पानीको निकास नहुदाँ समस्या हुने भन्दै नाली निर्माण तत्कालै शुरु गर्नुपर्ने जोड दिए । ‘पानी पर्दा मैदानको बाउण्ड्री लाईनमै जम्छ, हिलाम्य हुन्छ ।’ उनको भनाई थियो–त्यसैले पानकी निकास पहिलो प्राथकिमता हो ।’

मैदान फराकिलो बनाउन उत्तर पश्चिमको तल्लो भेगमा माटो फिलिङ गरिएको छ । पोखरा रंगशाला फुटबल मैदान निर्माणको काम अगाडि बढिरहेको छ । त्यहीबाट निस्किएको ढुंगेमाटोलाई क्रिकेट मैदानको तल्लो क्षेत्रमा पुरिएको हो । माटोले भरिएको ठाँउलाई सम्याउने क्रममै झण्डै दशलाख रुपैयाँ खर्च भएको छ । दशलाख रुपैयाँ भने केही महिना अघि मात्रै परिषदले खेलकुद विकास समिति मार्फत खर्च गर्न कास्की जिल्ला क्रिकेट संघलाई निर्देशन दिएको थियो ।

कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले प्रस्ताव गरिएको बजेटले संघलाई काम गर्ने जिम्मेवारी दिए क्रिकेट मैदानको स्वरुप नै बदल्ने गरी काम गरिने दावी गरे । ‘राष्ट्रिय खेलकुद प्रतियोगिता आउन लगभग दुई वर्षको समय छ । प्रस्ताव गरिएको बजेटले मैदानसँगै पेभेलियनसम्म बनाउने योजना बनाउनुपर्छ ।’ उनले भने–‘काम गर्दै जाने हो । केही आर्थिक सहयोग स्थानीयस्तरमै जुटाउनुपर्छ । केन्द्रसँग पनि माग्नुपर्छ ।’

नेपाल क्रिकेट संघ(क्यान), स्थानीय व्यक्तिविशेष तथा संघसंस्था एवं राष्ट्रिय खेलकुद परिषदको आर्थिक सहयोगमै पोखरा रंगशाला क्रिकेट मैदान यो अवस्थासम्म आईपुगेको उनको भनाई थियो । क्यानकै आर्थिक सहयोगमा मैदान(जग्गा) संरक्षणको लागि तारजाली लगाईएको थियो ।

परिषदले मैदानको लागि छ वर्ष अघि १३ लाख उपलब्ध गराएको थियो । त्यसपछि अहिले छुट्टाइएको १० लाख रुपैयाँ मात्रै हो । त्यसभन्दा अघिका कामहरु भने क्यान र स्थानीयस्तरमै जुटाइएको सहयोगबाट निर्माण गरिएको थियो ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता भन्दा अघि नै पोखरामा क्रिकेटको फ्रेन्चाईज पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिताको दुईवटा संस्करण सम्पन्न हुने छन् । पहिलो संस्करणको फ्रेन्चाईज २०७५ साल कार्तिक ९ गतेदेखि २० गतेसम्म आयोजना गरिएको थियो । क्रिकेट लिग गर्ने समयमै आयोजक क्विन्स इभेण्ट म्यानेजमेन्ट प्रालिले मैदान बनाउन खर्च गरेको थियो ।

प्रिमियर लिगले पोखरा क्रिकेट मैदानको अन्तराष्ट्रिय बजारीकरण गर्न टेवा दिएको थियो । त्यसभन्दा अघि नै पोखराको क्रिकेट मैदान अन्तराष्ट्रिय क्षेत्रमा पुगिसकेको थियो । पत्रकार सुदर्शन रन्जितले ढुंगे मैदानमा खिचेको फोटोलाई एशियन क्षेत्रमा उत्कृष्ठ पुरस्कार प्राप्त गरेको थियो ।

कमेन्टहरु
Loading...