फागुन दोस्रो साता पोखरामा प्याराग्लाईडिङ वल्र्डकप–एशियन टुर हुने

पोखरा, १९ माघ / पोखरामा फागुन ११ देखी प्याराग्लाइडिङ वल्र्ड कप– एसियन टुर २०२० तथा १९ औं नेपाल ओपन प्याराग्लाईडिङ च्याम्पियनसिप हुने भएको छ । नेपाल प्याराग्लाईडिङ तथा ह्याङग्लाईडिङ संघ र नेपाल प्याराग्लाईडिङ पाईल्टस क्लबको सहयोगमा पोखरामा पहिलो पटक प्याराग्लाईडिङको वल्र्डकप हुन लागेको हो ।

‘स्पोर्टस टुरिज्म’ प्रवद्र्धन गर्ने उद्देश्य सहित आयोजित प्याराग्लाईडिङ वल्र्डकपले यस अघि पोखरामै दुई पटक प्रि– वल्र्डकप प्याराग्लाईडिङ च्याम्पियनसिप आयोजना भईसकेको छ । वल्र्डकपमा सहभागि हुने पाईलटले एफएआई (फेडेरेशन एरोनोटिक इन्टरनेशनल) बाट लाईसेन्स प्राप्त प्यारापाईलटले मात्रै सहभागिता जनाउने पाउने प्रतियोगिताका संयोजक एवं नेपाल हवाई खेलकुद संस्थाका निर्वतमान अध्यक्ष योगेश भट्टराईले जानकारी दिए । ‘एफएआईको लाईसेन्स प्राप्त एवं र्याङकिङमा रहेका पाईलटले वल्र्डकपमा सहभागिता जनाउन पाउने छन् ।’

उनले आईतबार आयोजित पत्रकार सम्मेलनमा बताए । नेपाली सेनाका पाईलट सागर जलारीले प्रतिस्पर्धा गर्ने छन् । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितापछि नेपाली सेनाले प्याराग्लाईडिङ तर्फ चासो दिदैं आएको छ । प्याराग्लाईडिङ वल्र्डकपमा ३० राष्ट्रका १ सय २५ पाईलटको सहभागिता रहने उनले बताए । नेपालसहित अमेरिका, बेलायत, स्वीट्जरल्याण्ड, फ्रान्स, जर्मनी, अष्ट्रेलिया, रसिया, बेल्जियम, युक्रेन, चीन, जापान, भारत, कोरिया, इरान, भियतनाम तथा चाईनिज ताईपेइबाट पाईलटहरुको सहभागिता रहने उनको भनाई थियो ।

संयोजक भट्टराईका अनुसार चीनबाट ११ जना पाईलटले प्रतिस्पर्धामा सहभागिता जनाउन आफनो नाम दर्ता गरिसकेका छन् । यद्यपी पछिल्लो समयमा कोरोना भाईरसको संक्रमण फैलिदैं गएको अवस्थामा चीनका पाईलटको सहभागितामा प्रश्न चिन्ह खडा भएको सन्दर्भमा संयोजक भट्टराईले अहिलेसम्म चीनिया पाईलट आउने कन्फर्म भएको स्पष्ट पारे एक्युरेसी र क्रसकन्ट्री विधामा प्रतिस्पर्धा हुने छ ।

क्रसकन्ट्रको लागि ७ टास्क पुरा गर्नुपर्छ । फागुन ११ गतेदेखि १७ गतेसम्म हुने प्रतिस्पर्धाको क्रसकन्ट्रीमा मौसमी समस्या आएको अवस्थामा एउटै दिनमा पाईलटले पुरा गरेको टास्क अनुसार क्रसकन्ट्रीको विजेता छानिने प्रतियोगिताका व्यवस्थापक विमल अधिकारीले जानकारी दिए । उनी २०१८ मा इण्डोनेसियमा आयोजित एशियन गेम्समा नेपालले क्रसकन्ट्रीमा रजत पदक जित्दा कप्तानी भूमिकामा थिए ।

वल्र्डकप गर्नको लागि ८० लाख रुपैयाँ खर्च लाग्ने अनुमान रहेको नेपाल हवाई खेलुकद संस्था(ना)का अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । प्रत्येक दिनको टास्क पुरा गर्ने खेलाडीलाई उत्कृष्टताको आधारमा पदक प्रदान गरिने उनले बताए ।

कमेन्टहरु
Loading...