नेपालले नामिबियालाई १ विकेटले हरायो

काठमाडौं, २५ माघ /आइसीसी विश्व क्रिकेट लिग डिभिजन दुईमा नेपालले विजयी सुरूवात गरेको छ। नामिबियाले दिएको १३९ रनको लक्ष्य पछ्याएको नेपालले कमजोर ब्याटिङका बाबजुत ४९ दशमलव ३ बलमा लक्ष्य पुरा गर्दै विजयी सुरूवात गरेको हो।

नेपाललाई जिताउन बसन्त रेग्मीले उत्कृष्ट पारी खेल्दै नटआउट २४ रन बनाए। २४ बल खेलेका रेग्मीले १ छक्का र २ चौका प्रहार गरेका थिए।

अन्तिम दुई ओभरमा नेपाललाई खेल जित्न १६ रन आवश्यक थियो। ४८ औं ओभरको पहिलो र दोस्रो बल सन्दिप लामिछानेले खेल्न सकेनन्। तेस्रो बलमा एक रन लिँदै रेग्मीलाई स्ट्राइक छोडिदिए। रेग्मीले लङअनमा छक्का प्रहार गर्दे नेपाललाई खेलमा फर्काए।

त्यसपछि नामिबियाका खेलाडीले वाइड फाले। अर्को बलमा रेग्मीले १ रन लिए। ४८‍औं ओभरको अन्ति बलमा लामिछानेले केही खेल्न सकेनन्।

अन्तिम ओभरमा नेपाललाई ९ रन आवश्यक रहेको बेला पहिलो बलमा रेग्मीले २ रन लिए। दोस्रो बलमा चौका हान्दै खेलमा फर्किए। तेस्रो बलमा नामिबियाका खेलाडीले वाइड फालेपछि नेपालले ४ बल बाँकी छँदै खेल जितेको हो।

यसअघि सुरूमै विकेट गुमाएको नेपालले १२औं ओभरको दोस्रो बलमा कप्तान पारस खड्कालाई सस्तैमा गुमाएको थियो। यस्तै १३औं ओभरको चौथो बलमा आरिफ शेख शून्य रनमा आउट भए।

यसअघि ३५ बल खेलेका खड्काले १९ रन बनाएका थिए। विलियम्सको बलबाट आउट हुनअघि उनले २ चौका प्रहार गरेका थिए। यसअघि दोस्रो ओभरको पहिलो बलमा ओपनर दिलिप नाथ आउट भए। उनले सामना गरेको पहिलो बलमै आउट भएका हुन्।

यसअघि नामिबियाको विन्डहकस्थित एफिज पार्क मैदानमा नेपालले टस जितेर नामिबियालाई पहिले ब्याटिङको निम्तो दिएको थियो। निर्धारित ५० ओभरको खेलमा नामिबियाले ३४।२ ओभरमा सबै विकेट गुमाउँदै १३८ रन बनाएको थियो।

नामिबियालाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट लिए भने सोमपाल कामीले ३ विकेट लिएका थिए। सरद भेसवाकर, पारस खड्का र बसन्त रेग्मीले समान १/१ विकेट लिएका थिए।

कमेन्टहरु
Loading...