फूपूले दिलाईन् नेपाललाई दोश्रो स्वर्ण, ४ रजत पनि प्राप्त

सन्देश श्रेष्ठ
भारत, गुवाहाटी, ३ फागुन/भारतमा जारी बाह्रौं दक्षिण एसियाली खेलकुद (साग)को एघारौं दिन नेपालले दोश्रो स्वर्ण जितेको छ । नेपालकी फूपू ल्ह्यामु खत्रीले जुडोको ६३ केजी मूनिको स्पर्धामा स्वर्ण जितेकी हुन् । उनले भारतीय खेलाडी सूनी बालादेबी हुइदरमलाई भारतको आफ्नै मैदान सिलोङमा १०÷१ के फराकिलो अन्तरले पराजित गर्दै स्वर्ण पदक जितिन् ।
हंगेरीमा ओलम्पिक सोलिडारिटी कोर्ष गरेर २ दिनअघी मात्र भारतको सिलोङ आएकी उनले आयोजकबिरुद्ध उसकै भूमिमा बहादुरीपूर्ण प्रदर्शन गरिन् । फाइनल प्रवेश गर्नुअघी उनले श्रीलंका, बंगलादेश र पाकिस्तानलाई हराएकी थिइन् ।

ताप्लेजुङमा जन्मेकी फूपू अहिले काठमाडौंको धर्मस्थलीमा बस्छिन् । उनी धर्मस्थलीस्थित बहुउदेश्यीय मार्सल आर्ट हलमा सानैदेखी जुडो सिकेकी हुन् ।

फूपू आठ पटक विश्वको सर्वोच्च शिखर सगरमाथा चढिसेकका दोर्जे शेर्पाका छोरी हुन् । दोर्जेको २ बर्षअघी सगरमाथा चढ्ने क्रममा हिमपहिरोमा परेर निधन भएको थियो । काठमाडौंमा विविएस अध्ययन गरिरहेकी उनले बुबाको निधनपछि आर्थिक उपार्जनका लागि बेला–बेला टे«किङ्ग गाइड पनि गर्ने गरेकी छिन् ।

स्वर्ण जितेपछि प्रसन्न मुद्रामा देखिएकी उनले सो स्वर्ण पदक आफ्ना स्वर्गिय बुबा प्रति समर्पण गरिन् । बुबाकै प्रेरणाले खेल्न शुरु गरेको भन्दै उनले आफूले फाइनल खेलिरहँदा बुबालाई सम्झँदै खेलेको स्मरण गरिन् । आफूलाई हंगेरीमा भएको प्रशिक्षणले स्वर्ण जित्न सघाएको बताइन् । प्रशिक्षणमा आफूलाई दवाबमा नखेल्न सिकाएको र सोही अनुसार खेल्दा जित हातपरेको उनको भनाई छ । जितप्रति आफू पूर्ण रुपमा सन्तुष्ट रहेको भन्दै अझै ओलम्पिकमा समेत पदक जित्ने लक्ष्य रहेको बताइन् ।

यसअघी निमा घर्तीमगरले नेपाललाई पहिलो स्वर्ण दिलाएकी थिइन् ।

तेक्वान्दोमा आयशालाई रजत

तेक्वान्दोमा आज नेपालले थप ४ रजत पदक जितेको छ । नेपालका आयशा शाक्य, निमा गुरुङ, सक्षम कार्की र बिरबहादुर महराले रजत पदक जितेका हुन् ।

तेक्वान्दोकी स्टार खेलाडी आयशा शाक्यले रजत पदक जितिन् । फाइनलमा भारतीय खेलाडी मार्गेरितो रेगीसँग सडेन डेथमा पराजित भएपछि उनी रजतमा सिमित भएकी हुन् । निर्धारित समयसम्म ६÷६ अंक भएर बराबरी भएपछि खेल सडेन डेथमा पुगेको थियो । सडेन डेथमा भारतीय खेलाडी रेगीले थप ३ अंक बटुल्दै आयशालाई ९÷६ ले पराजित गरिन् । रेगीले सो स्पर्धामा स्वर्ण जितिन् । आयशाले पहिलो राउण्डमा बंगलादेशी र सेमीफाइनलमा भुटानलाई पराजित गरेकी थिइन् ।

तेक्वान्दोकै महिला ५३ केजी तौल समूहमा निमा गुरुङले पनि रजत जितिन् । भारतकी लतिका भण्डारीसँग १६÷८ ले पराजित हुँदै उनले रजत पदक जितेकी हुन् । यसअघी उनले पहिलो राउण्डमा श्रीलंका र सेमीफाइनलमा अफ्गानी खेलाडीलाई पराजित गर्दै सेमीफाइनलमा पुगेकी थिइन् ।

पुरुष ८० केजी तौल समूहमा नेपालका सक्षम कार्कीले रजत जिते । फाइनलमा भारतीय खेलाडी नवजीत म्यानसँग ७÷१ ले पराजित भएपछि उनी पनि रजतमा सिमित भए । यसअघी उनले पहिलो चरणमा भुटान र सेमीफाइनलमा अफ्गानी खेलाडीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए ।

तेक्वान्दोकै पुरुष ६३ केजी तौल समूहमा नेपालका बिरबहादुर महराले रजत पदक जिते । फाइनलमा अफ्गानी खेलाडी अहमद अली बक्सीसँग पराजित हुँदै उनले पनि रजतमा चित्त बुझाए । यसअघी उनले पहिलो चरणमा श्रीलंका र सेमीफाइनलमा भुटानलाई पराजित गर्दै फाइनल यात्रा सुरक्षित गरेका थिए ।

कमेन्टहरु
Loading...