लेखनाथमा पश्चिमाञ्चल क्षेत्रीय कराँते प्रतियोगिता हुने

पोखरा, २५ चैत/सात तालको बगैँचा शहर लेखनाथ नगरपालिकामा यही वैशाख ५ र ६ गते पश्चिमाञ्चल क्षेत्रीय पुरुष तथा महिला फुल कन्ट्याक्ट कराँते प्रतियोगिता हुने भएको छ ।नेपाल क्योकुशिन बुदोकाई कराँते संघ, लेखनाथको आयोजना एवम् राइजिङ स्टार यूथ क्लबको सहआयोजना र भूपू सैनिक क्लब, राइजिङ स्टार यूथ क्लब, लिटल फ्लावरस एजुकेशनल एकेडेमी सहित स्थानीय संघ संस्थाको विशेष पहल एवम् व्यवस्थापनमा प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिताबारे जानकारी गराउने उद्देश्यका साथ आयोजित पत्रकार सम्मेलनमा प्रचारप्रसार उप समितिका संयोजक विष्णुहरि पौडेलले विभिन्न तौल समूहमा खेलाइने प्रतियोगितामा पश्चिमाञ्चलका विभिन्न जिल्ला सहित काठमाडौँ, सर्लाही र धनुषाबाट समेत गरी १२० जना खेलाडीको सहभागिता हुने जानकारी दिनुभयो ।प्रतियोगितालाई सफल बनाउन सु.जगबहादुर गुरुङको संयोजकत्वमा मूल आयोजक समिति, प्रदिप गुरुङको संयोजकत्वमा अर्थ संकलन उप समिति, सुरजजंग राणाको संयोजकत्वमा कार्य सम्पादन उप समिति, क्या. गणेशप्रसाद गुरुङको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन उप समिति र धनबहादुर गुरुङको संयोजकत्वमा अतिथि सत्कार उपसमिति गठन गरिएको उहाँले जानकारी दिनुभयो ।

मूल आयोजक समितिका संयोजक सु.जगबहादुर गुरुङका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिब पाँच लाख २२ हजार ८०० रुपैयाँ लाग्ने अनुमान गरिएको र उक्त रकमको स्रोत जुटाउने काम सुरु भैसकेको छ ।प्रतियोगिताको तौल समूहमा पुरुष जुनियर तर्फ क्रमशः ३०, ३५, ४० र ५० किलो ग्राम मुनि र पुरुष सिनियरतर्फ ५५ के.जी मुनि र खुल्ला तौल समूह रहेको छ ।त्यस्तै महिला जुनियर तर्फ ३० र ४५ केजी मुनि र महिला सिनियरमा खुल्ला तौल समूह रहेको आयोजकले जनाएको छ ।प्रत्येक तौल समूहका प्रथम, द्वितीइ, तृतीय र उत्कृष्ट खेलाडीलाई शिल्ड, मेडल, प्रमाणपत्र सहित पुरस्कृत गरिने भएको संयोजक गुरुङले जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...