काँहु महोत्सवमा आयोजित पर्वतीय दौडमा गोर्खे राई पहिलो

पोखरा, २८ मंसिर /काँहु धरहारा महोत्सवको अवसरमा आयोजीत सात किलोमिटरको पर्वतीय दौड पुरुष तर्फको उपाधि गोर्खे राईले जितेका छन् । पोखराको रानीपौवाबाट शुरु भएको दौड काँहु महोत्सवस्थल धरहरासम्म पुगेर टुंगिएको थियो । राईले सात किलोमिटरको दुरीलाई ३६ मिनेट ५७ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जिते ।

देउमान गुरुङले ३८ मिनेट ३० सेकेण्डमा पुरा गर्दै दोस्रो स्थानमा रहदाँ दिनेश गुरुङले ३९ मिनेट ३० सेकेण्डमा पुरा गर्दै तेस्रो स्थानमा चिक्त बुझाए । सान्त्वना पुरस्कार भने लोकराज घिमिरेले थापे । यसैगरी महिला तर्फको प्रतिस्पर्धामा ललिता लामिछानेले ४९ मिनेटको समय लगाएर प्रथम स्थान हासिल गरिन् । त्यसैगरी प्रतिमा जिसी र सर्मिला गुरुङ क्रमश दोस्रो र तेस्रो स्थानमा रहे । सान्त्वना पुरस्कार सीता सारुमगरले पाईन् ।

काँहु तेस्रो महोत्सवको पहिलो दिन शुक्रबार पर्वतीय दौडको आयोजना गरिएको महोत्सव प्रचार प्रसार संयोजक दामोदर आचार्यले जानकारी दिए । विजेता धावकहरुलाई नगद ५, ३, २ र १ हजार रुपैयाँ प्रदान गरिएको छ । स्थानीय जनकल्याण क्लबको आयोजना तथा फुलबारी क्लबको सह आयोजनामा शुरु गरिएको दौडमा पुरुष तर्फ ५० र महिला तर्फ ८ धाविकाले प्रतिस्पर्धा गरेका थिए । महोत्सवको दोस्रो दिन शनिबार साईक्लिङ रेस आयोजना गरिने उनले जानकारी गराए ।

पोखराको दृष्यावोलकनको लागि उपयुक्त मानिएपनि ओझेलमा पर्दै आएको काँहुलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित महोत्सवको आयोजना गरिएको जनाउँदै उनले साईक्लिङ रेस मार्फत साहसिक खेलकुदको गन्तव्य बनाउने तर्फ टेवा पुग्ने विश्वास व्यक्त गरे । २०२६ सालमा काँहु धरहरा निर्माण गरिएको हो ।

तत्कालिन समयमा अञ्चलाधिस नन्दबहादुर मल्ल र सामाजिक अभियान्ताको रुपमा परिचित स्व. मेजर बीरसिंह गुरुङको सक्रियतामा धरहरा निर्माण गरिएको थियो । १४६० मिटरको उचाईमा काँहुँमा धरहरा निर्माण गरिएको छ । संकटकालिन अवस्थामा त्यसलाई मर्मत सम्भार गरिएको थियो । २०६२ सालमा पहिलो पटक महोत्सव आयोजना गरिएको थियो । दोस्रो महोत्सव २०६५ सालमा आयोजना गरिएको थियो ।

कमेन्टहरु
Loading...