पोखरामा सर्वाधिक पुरस्कार राशीको फुल कन्ट्याक्ट कराँते च्याम्पियनसिप हुने

पोखरा, १५ साउन/ फुल कन्ट्याक्ट कराँते महासंघको आयोजनामा पोखरा सर्वाधिक पुरस्कार राशीको फुल कन्ट्याक्ट कराँते च्याम्पियनसिप हुने भएको छ । भदौ १४ गते पोखरामा १ लाख नगद राशीको कराँते च्याम्पियनसिप हुन लागेको हो ।

महिला र पुरुष गरी दुई वटा इभेण्टमा प्रतिस्पर्धा गराईने महासंघले जनाएको छ । त्यसको लागि महासंघमा आवद्ध संघहरु तयारी गर्दै खेलाडी प्रशिक्षणमा जुटेका छन् ।

प्रत्येक संघबाट दुई महिला र दुई पुरुषले सहभागिता जनाउन पाउने मंगलबार महासंघले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिईयो । महासंघका उपाध्यक्ष राजकुमार गुरुङका अनुसार फुलकन्ट्याक्न्ट महासंघमा १५ वटा संघ आवद्ध छन् । तीन संघका विभिन्न डोजो तथा क्लबहरु छन् । तीनै डोजो तथा क्लबका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने उनको भनाई थियो ।

खेलाडीको भविष्य खेल मार्फत हुनुपर्छ भन्ने मान्यता महासंघले राखेको छ । खेललाई व्यवसायिक बनाउँदै खेलप्रति सर्वसाधारणको आकर्षण बढाउन महासंघले ठूलो पुरस्कार राशीको ‘प्रथम नेपाल फुल कन्ट्याक्ट प्रेसिडेन्ट कप कराँते च्याम्पियनसिप’ आयोजना गरिएको महासंघका अध्यक्ष दमन बस्नेतले पत्रकार सम्मेलनमा बताए ।

पुरुष तथा महिला तर्फ खुल्ला तौल समूहमा मात्रै प्रतिस्पर्धा गराईने छ । एउटा मात्रै इभेण्टमा प्रतिस्पर्धाले अझ प्रभावकारी हुने विश्वास महासंघले लिएको छ । ग्राण्ड च्याम्पियन खेलाडीले नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । दोस्रोले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ नगद पुरस्कार हात थाप्ने छन् ।

कमेन्टहरु
Loading...