करापुटारमा शिवरात्रीमा रनिङशिल्ड पुरुष तथा महिला भलिवल प्रतियोगिता हुने

पोखरा, १९ माघ / महाशिवरात्री पर्वको पावन अवसरमा लमजुङको मध्यनेपाल नगरपालिकाको इशानेश्वर महादेव मन्दिर परिसरमा विगतका वर्षहरु जस्तै यस वर्ष पनि भलिवल तथा छेलो प्रतियोगिता हुने भएको छ ।

करापुटार क्लबको आयोजनामा आगामी फागुन १ गतेदेखि ३ गते सम्म नवौँ करापुटार खुल्ला रनिङ शिल्ड महिला तथा पुरुष भलिवल एवं छेलो प्रतियोगिता हुन लागेको क्लबका अध्यक्ष कमप्रसाद गुरुङले जानकारी दिनुभयो ।

प्रतियोगितामा सहभागि हुने टिमले फागुन १ गते बिहान ११ बजेसम्म टिम दर्ता गर्न सक्ने गुरुङको भनाई छ । टिम दर्ता गर्न पुरुष टिमलाई २ हजार र महिला टिमलाई १ हजार लाग्ने छ भने खुल्ला छेलो प्रतियोगिताको लागि दर्ता निशुल्क रहेको अध्यक्ष गुरुङले बताउनुभयो ।

पुरुष भलिवलमा प्रथम हुने टिमले नगद ५० हजार, रनिङशिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै द्धितिय हुने टिमले नगद ३० हजार, मेडल र प्रमाणपत्र पाउने क्लबका सचिव जाकिर हुसेन मियाले बताउनुभयो । साथै सेमिफाइनलमा पराजित हुने टिमलाई नगद ५ हजार तथा प्रमाणपत्र प्रदान गरिने उहाँको भनाई रहेको छ ।

यस्तै महिला भलिवलमा प्रथम हुने टिमले नगद रु १५ हजार, रनिङशिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् भने द्धितिय हुने टिमले नगद रु १० हजार, मेडल र प्रमाणपत्र पाउने प्रतियोगिता संयोजक तेज बहादुर तामाङले बताउनुभयो ।

त्यस्तै छेलो प्रतियोगितामा प्रथम हुनेले नगद १० हजार, मेडल, फेता र प्रमाणपत्र पाउनेछन् भने द्धितिय हुनेले ५ हजार, मेडल, फेता र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...