करन केसी चम्कीदा नेपाल विश्वकप क्रिकेटको छनोटमा

काठमाडौं, २ फागुन / विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपालले क्यानडाको हराउँदै डिभिजन एकमा बढुवा भएको छ। क्यानडाले दिएको १९५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका लागि करन केसीले सम्झनलायक प्रदर्शन गरेपछि हारिसकेको खेल नेपालको पक्षमा गएको हो।

४२ दशमलव १ ओभरमा नवौं विकेट गुमाइसकेको अवस्थामा खेल नेपालको हातबाट फुत्किसकेको देखिएको थियो। त्यतिबेला नेपाललाई जितको लागि ५१ रनको जरुरी थियो। त्यस्तो बेलामा प्रवेश गरेका करण केसीले ३१ बलमा ४ छक्का र ३ चौका प्रहार गर्दै ४२ रन जोडेपछि खेल नेपालको पक्षमा आएको हो।

उनलाई अन्तिम ओभरसम्म साथ दिएका बलर सन्दीप लामिछानेले ५ रन बनाए। यो जितसँगै नेपाल विश्व क्रिकेट लिग डिभिजन–१ मा प्रवेश गर्नुका साथै विश्वकप एक दिवसीयको छनोट खेल्ने मौका पाएको छ। ४३औं ओभरमा नेपालको नवौ विकेट गुम्यो। ४२ बलमा नेपाललाई ५१ रन आवश्यक थियो क्रिजमा थिए। करन केसी र सन्दिप लामिछाने।

पहिलो ओभरमा १० रन प्रहार गरेका करनले दोस्रो ओभरमा कुनै रन लिन सकेनन्। तेस्रो ओभरमा नेपाललाई जितका लागि ३० बलमा ३८ रन आवश्यक थियो। हातमा थियो अन्तिम विकेट। ४६औं ओभरको अन्तिम बलमा चौका प्रहार गर्दै आवश्यक रनरेट घटाए।

२४ बलमा नेपाललाई ३२ रन आवश्यक थियो। केसीले ४७औं ओभरमा एक रन मात्र लिए। १८ बलमा नेपाललाई जितका लागि ३० रन आवश्यक थियो। केसीले छक्कासहित ८ रन बनाए। १२ बलमा अब नेपाललाई २१ रन आवश्यक थियो। ४९ औं ओभरमा केसीले १ छक्का र १ चौकासहित १२ रन बनाए।

अब अन्तिम ओभरमा नेपाललाई जितका लागि ८ रन आवश्यक थियो। अन्तिम ओभरको ६ बलमा नेपाललाई जितको लागि ८ रन जरुरी थियो। त्यतिबेला विपक्षी बलर सेसिल परवेजले लगातार चार बल डट फालेपछि खेल फेरि पनि नेपालको लागि कठिन थियो। तर, पाँचौं बलमा करणले छक्का हानेपछि खेल एकाएक नेपालको पक्षमा फेरि ढल्कियो।

अब नेपालले अन्तिम बलमा जितको लागि २ रनको आवश्यक पर्‍यो। त्यसै बेला दबाबमा देखिएका विपक्षी बलर परवेजले वाइड फालेपछि खेल बराबरीको स्थितिमा आयो। अब अन्तिममा एक रन आवश्यक बन्यो जसलाई नायक केसीले पूरा गरे। आजको खेलमा नायक बनेका करनले नेपाललाई फाइनलमा मात्र पुर्‍याएनन् डिभिजन एकमा बढुवा गर्नुका साथै विश्वकप छनोटका लागि जिम्बाम्बेको ढोकासमेत खोलिदिए।

जितसँगै नेपालले ८ अंक प्राप्त गर्दै समूहको शीर्ष स्थानमा रहेर डिभिजन एकमा बढुवा भएको छ। सन् २०१९ मा हुने एकदिवसीय विश्वकपको छनोट खेलका लागि पनि छानिएको छ। सो खेल अर्को महिना जिम्बाब्वेमा हुनेछ। त्यस्तै नेपाल अब दुई वर्षसम्म आयोजना हुने विश्व क्रिकेट लिग च्याम्पियनसिप र ४ दिवसीय अन्तर-महादेशीय कप खेल्नका लागि पनि योग्य भएको छ।

यसअघि टस हारेर पहिले ब्याटिङ गर्दै क्यानाडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १९४ रन बनाएको थियो। उसका लागि ओपनर श्रीमन्थ विजारत्नेले अविजित १०३ रन बनाएका थिए। १५२ बल खेलेका उनले ८ चौका प्रहार गरेका थिए।

क्यानडालाई रोक्न नेपालका लागि बसन्त रेग्मीले ३ तथा सन्दिप लामिछानेले २ विकेट लिएका थिए। खेलका हिरो भएका केसी र सरद भेषवाकरले पनि एक(एक विकेट लिएका थिए। १८५ रनको जवाफी ब्याटिङ थालेको नेपालले शुरुवातमा एकदमै फितलो प्रदर्शन गर्‍यो। ओपनर तथा उपकप्तान ज्ञानेन्द्र मल्ल, कप्तान पारस खड्का र शरद भेषावकर सस्तैमा आउट भए।

मल्लले ९ रन जोड्न भ्याए भने खड्का पहिलो बलमै डकआउट भए। तर युवा खेलाडीहरुले फेरि नेपालको पारी सम्हाले। ओपनर दिलिप नाथले ४१, आरिफ शेखले २६, रोहित पौडेलले २७ र दिपेन्द्रसिंह ऐरीले १८ रन बनाएर आशा जीवितै राखेका थिए। सोमपाल कामीले पनि ‍७ रन बनाए।

कमेन्टहरु
Loading...