फागुमा घान्द्रुकमा घोडा दौड प्रतियोगिता

फाइल तस्बिर

पोखरा, २५ फागुन/पर्यटकको उद्धारमा मात्रै होईन आवातजावातको साधन पनि हो घोडा । घान्द्रुकदेखि छोमरोङ, देउराली हुदैै टाडापानीको सहज यातायातको साधन पनि हुन् । दुख विमार पर्दा पर्यटकलाई उद्दार गर्ने महत्वपूर्ण साधन हुन् । मोटरबाटोको अभावमा खाद्यान्न ढुवानी गर्ने एक मात्र साधन समेत घोडा नै थिए । अब तिनै घोडा रेसरको रुपमा प्रयोग गरिदैं छ ।

कास्कीको पर्यटकीय गाँउ घान्द्रुकमा चैतको पहिलो साता अर्थात फागु पूर्णिमा दिन घोडा दौड हुदैं छ । त्यसको लागि घोडाहरु आवश्यक तयारीको रुपमा राखिएको छ । ‘दोस्रो सस्करणको रुपमा फागु पूर्णिमाको दिन घोडा रेस(दौड) आयोजना गर्दै छौं ’ दौडका प्रचारप्रसार संयोजक अमृत गुरुङले भने–‘दौड केवल मनोरन्जन मात्रै नभई आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको महत्वपूर्ण इभेण्टको रुपमा लिएका छौं ।’

घोडा खच्चड व्यवस्थापन तथा कल्याणकारी समिति घान्द्रुकको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा घोडा व्यवसायीले सहभागिता जनाउन पाउने छन् । म्याग्दी, मुस्ताङसँगै नेपाली सेनाका घोडा रेसरले पनि सहभागिता जनाउने पाउने छन् । ‘ओपन प्रतियोगिता हो घोडा व्यवसायी जो पनि सहभागिता जनाउन सक्ने छ ।’ उनले भने–आर्मीका व्यावसायिक घोडा रेसरले पनि प्रतिस्पर्धा गर्नै पाउने छन् ।’ गत वर्ष आयोजित पहिलो संस्करण भने स्थानीय घोडाा व्यवसायीहरु बीच मात्रै प्रतिस्पर्धा गराइएको थियो ।

चैत ६ गते आयोजना हुने दोस्रो सस्करणको रेसमा सांगितीक कार्यक्रम समेत आयोजना गरिने प्रवद्र्धनात्मक कार्यक्रम समेत गरिने उनको भनाई थियो । अन्नपूर्ण गाँउपालिका अन्तर्गत पर्ने घान्द्रुक अहिले वडा नं १० र ११ अन्तर्गत पर्छ । घान्द्रुक, छोमरोङ एवं टाडापानीका होटल व्यवसायीहरुले घोडा पाल्दै आएका छन् । पर्यटकीय क्षेत्रमा ३५ होटलले घोडा पालेको उनको भनाई छ । तीनै घोडाहरु प्रतिस्पर्धामा आउने छन् । गतवर्ष पहिलो पटक स्थानीय घोडापालक व्यवसासयीहरुले ५ हजार रुपैयाँ उठाएर प्रतियोतिगा सञ्चालन गरेका थिए ।

दौड पाँच किलोमिटर दुरीको हुने छ । घान्द्रुक पुग्ने तल्लो जिप स्टेशन मच्क्युदेखि माथिल्लो स्टेशन खोला भ्रोंसम्मको दुरी तय गरिएको छ । पाँच किलोमिटरको दुरीलाई गतवर्ष १३ मिनेट ५४ सेकेण्डको समय लगाएर पुरा गरिएको थियो । प्रतियोगितामा ४० जनाले प्रतिस्पर्धा गर्ने लक्ष्य आयोजक समितिले लिएको छ । घोडा रेसबाट बचत रकमलाई पर्यटकीय पैदल यात्रालाई मर्मत सम्भार गरी अझ व्यवस्थित बनाउने लक्ष्य समेत राखिएको छ । खर्च ७ लाख हुने अनुमान गरिएको छ ।

प्रतियोगिताको विजेताले नगद ५० हजार, दोस्रो हुनेले ३० र तेस्रो हुनेले २० हजार रुपैयाँ पुरस्कार राशी पाउने छ । पछिल्लो समय घान्द्रुकमा मोटरबाटोले घोडा पालन गर्ने व्यवसायीहरु घट्दै गएका छन् । यद्यपी केही व्यवसायीले भने शौखको रुपमा पाल्दै आएका छन् । एउटा घोडालाई सामान्यत १ लाख रुपैयाँ पर्ने गरेको छ । अधिकतम भने २ लाख रुपैयाँसम्म पर्छ । घान्द्रुकमा आयोजना गरिने घोडा दौडले खेल पर्यटनको लागि नयाँ अध्याय हुने विश्वास पर्यटन व्यवसायीले लिएका छन् ।

कमेन्टहरु
Loading...