सातौं हिसान स्पोटर्स मिटको उपाधि सहित ग्लोवलको ह्याट्रीक

पोखरा ६, माघ /पोखराको रानीपौवामा रहेको ग्लोवल कलिजियट उच्च माविले सातौ हिसान स्पोटर्स मिटको उपाधि सहित उक्त प्रतियोगितामा ह्याट्रिक गर्न सफल भएको छ ।पाँचौ र छैटौ संस्करणको उपाधि जितेको ग्लोवलले सोमबार पोखरामा सम्पन्न भएको सातौ हिसान स्पोटर्स मिटमा २० अङकका साथ शिर्ष स्थानमा रहदै उपाधि सहित ह्याट्रीक पुरा गर्न सफल भएको हो । ह्याट्रीक पुरा गरेको ग्लोवलले रनिङ शिल्ड समेत पच गरेको प्रतियोगिताका संयोजक कमल गुरुङले बताए ।

त्यसै गरी समग्र प्रतियोगितमा उपविजेता माउन्ट अन्नपुर्ण उच्च मावि भयो भने सगरमाथा उच्च मावि तेश्रो भयो । सोमबार पोखरा रंगशालामा सम्पन्न भएको बास्केटवल छात्र÷छात्राको फाईनल खेलमा माउन्ट अन्नपुर्ण उच्च माविले दोहोरो उपाधि माथि कब्जा जमाउन सफल भएको छ । छात्रा बास्केटवलमा माउन्ट अन्नपुर्ण उमाविले ग्लोवललाई २८–१६ को स्कोरले पराजित गरी उपाधि जित्दा बास्केटवलको छात्रतर्फको फाईनल खेलमा पनि माउन्ट अन्नपुर्ण उच्च माविले ग्लोवललाई नै ४१–३३ को स्कोरले पराजित गरी दोहोरो उपाधि जितेको हो । छात्रा बास्केटवलमा सगरमाथा तेश्रो भयो भने छात्रतर्फ माउन्ट अन्नपुर्ण क्याम्पस तेश्रो भएको बास्केटवल संयोजक राजु कायस्थले बताए ।

सातौं हिसान स्पोटर्स मिटको उपाधि
सातौं हिसान स्पोटर्स मिटको उपाधि

छात्रा बास्केटवलमा ग्लोवलकी तनुजा गुरुङ उत्कृष्ट भईन भने हाईस्कोररको उपाधि माउन्ट अन्नपुर्ण उच्च माविकी रोजी गुरुङले प्राप्त गरीन । त्यसै गरी छात्रतर्फ माउन्ट अन्नपुर्ण उच्च माविका सुमन पुन उत्कृष्ट खेलाडी घोषित भएभने ग्लोवलका सुरज गुरुङले हाई–स्कोररको उपाधि जिते । त्यसै गरी शनिबार सम्पन्न भएको छात्रा भलिवलको फाईनल खेलमा करुणनिधि उच्च मावि (केफ) ले सगरमाथा उच्च माविलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जित्यो । केफले सगरमाथालाई १२–२५, १८–२५, २६–२४, २५–२२ र १५–१२ को सेटमा पराजित गर्दै छात्रा भलिवलको उपाधि हात पारेको हो ।

त्यसै गरी छात्र भलिवलमा पोखरा उच्च माविले ग्लोवल कलिजियट उच्च माविलाई २५–१२, २५–१५, २५–२३ को सोझो सेटमा पराजित गर्दै उपाधि जित्यो । छात्रा भलिवलमा वालोदय तेश्रो भयो भने छात्रतर्फ माउन्ट अन्नपुर्ण उमावि तेश्रो भएको भलिवल संयोजक दिवाकर जैसीले बताए । छात्रा भलिवलमा सगरमाथाकी शोईच्छा अधिकारी उत्कृष्ट खेलाडी घोषित भईन । उनले टेवल टेनिसमा डवल तर्फ स्वर्ण, र एकलमा रजत पदक जितेकी हुन भने उनी सहभागि छात्रा भलिवलमा उनले रजत पदक प्राप्त गरीन । छात्र भलिवलमा पोखरा उच्च माविका सागर प्रत्याल उत्कृष्ट घोषित भए ।

विजयी खेलाडीहरुलाई प्रतियोगिता समापन समारोहका प्रमुख अतिथि क्षेत्रिय प्रशासक लोकर्दशन रेग्मी, क्षेत्रिय अनुशन्धान आयोगका प्रमुख राजेन्द्रकुमार खत्री, कास्कीका जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुईटेल, अभिभावक संघका अध्यक्ष हेमराज बराल, हिसान कास्कीका अध्यक्ष रमाकान्त बराल लगायतले पुरस्कार वितरण गरेका हुन । भलिवल, बास्केटवलमा प्रथम हुनेले ७ दोश्रो हुनेले ५ र तेश्रो हुनेले ३ अङक प्राप्त गरेका हुन भने टेवल टेनिसमा समग्र प्रथम हुनेले ७ दोश्रो हुनेले ५ र तेश्रो हुनेले ३ अङक प्राप्त गरेका हुन । माघ २ गतेबाट संचालन भएको प्रतियोगितामा हिसानमा आबद्ध मध्य करीब ३० वटा बिद्यालयको सहभागिता रहेको हिसान कास्कीका सचिव रामजी शर्माले बताए ।

कमेन्टहरु
Loading...