हरिप्रसाद गोलेले जिते रजत

भारत, सिलोङ, २७ माघ/भारतमा जारी बाह्रौं दक्षिण एसियाली खेलकुद (साग)को छैटौं दिन नेपालले पहिलो पदक रजतबाट शुरु गरेको छ ।

नेपालका लागि हरिप्रसाद गोलेले उसु अन्तर्गत थाउलो स्पर्धामा रजत जितेका हुन् । अघिल्लो दिन ९.०१ अंक प्राप्त गरेका उनले आजपनि समान ९.०१ अंक नै प्राप्त गर्दै कुल १८.०२ अंक सहित रजत पदक जितेका हुन् ।

सो स्पर्धामा भारतले स्वर्ण जित्यो । भारतका एम ग्यानदास सिंहले कुल १८.७९ अंकसहित स्वर्ण जितेका हुन् ।  नेपालले आज थप ५ स्वर्ण पदकका लागि प्रतिष्पर्धा गर्दैछ । थाउलोमा नेपालकी सविता राइले स्वर्ण पदकका लागि प्रतिष्पर्धा गर्दैछिन् ।

यसैगरी उसुको महिला सान्सुतर्फ नेपालकी झरना गुरुङले स्वर्ण पदकका लागि प्रतिष्पर्धा गर्दैछिन् । ५२ केजी तौल समूहमा प्रतिष्पर्धा गर्ने उनले फाइनलमा भारतकी युमनाम सनाथोइ देबीसँग भिड्नुपर्नेछ ।

त्यस्तै, सोही स्पर्धाको ६० केजी तौल समूहमा नेपालकी जुनी राइले स्वर्ण पदकका लागि भारतकी अरुणनपमा देवीसँग प्रतिष्पर्धा गर्नेछिन् । भने ७० केजी तौल समूहमा नेपालकी विन्दु पुन मगरले भारतकी पूजा काडियासँग प्रतिष्पर्धा गर्नेछिन् ।

त्यसैगरी आजै नेपालका राजेश चौधरीले ५६ केजी तौल समूहमा भारतका रवि पञ्चलसँग स्वर्ण पदकका लागि प्रतिष्पर्धा गर्दैछन् । सान्सुतर्फको यी सबै प्रतिष्पर्धामा नेपाल पराजित भएपनि रजत भने सुरक्षित रहनेछ ।

कमेन्टहरु
Loading...