घान्द्रुकमा हुने घोडा दौडको तयारी पुरा

पोखरा, १ चैत/पर्यटकीय गाँउ घान्द्रुकमा घोडा दौड प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आन्तरिक तथा बाह्य पर्यटनसँगै पदयात्रा मार्गमा पर्ने घान्द्रुकलाई खेल पर्यटनको रुपमा विकास गर्ने उद्देश्य सहित चैत ६ गते फागुपूर्णिमाको दिन दोस्रो सस्करणको घोडा दौड प्रतियोगिताको तयारी गरिएको छ । सहभागि हुने घोडा राईडरले अघिल्लो दिनसम्म दर्ता गर्न पाउने व्यवस्था गरिएको छ ।

घोडा खच्चड व्यवस्थापन तथा कल्याणकारी समिति घान्द्रुकको आयोजनामा हुने दोस्रो संस्करणको प्रतियोगितामा ४० जना राईडरले सहभागिता जनाउने विश्वास गरिएको छ । ‘दर्ता खुल्ला गरेका छौं । हाम्रो अपेक्षा ४० जना राईडरले सहभगिता जनाउने छन् भन्ने छ ।’शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रचारप्रसार संयोजक अमृत गुरुङले भने–‘गत वर्ष १८ जना स्थानीयबासीले मात्रै सहभागिता जनाएका थिए ।’

पाँचदिनपछि हुने प्रतियोगितामा घोडेपानी, लान्द्रुक, भिच्चुक, म्याग्दी, मुस्ताङ लगायतका ठाँउबाट दौडमा सहभागिताको लागि आउने विश्वास गरिएको छ । घोडा दौडसँगै सांगितीक कार्यक्रम समेत आयोजना गरिने प्रवद्र्धनात्मक कार्यक्रम समेत गरिने उनको भनाई थियो । अन्नपूर्ण गाँउपालिका अन्तर्गत पर्ने घान्द्रुक अहिले वडा नं १० र ११ अन्तर्गत पर्छ । घान्द्रुक, छोमरोङ एवं टाडापानीका होटल व्यवसायीहरुले घोडा पाल्दै आएका छन् । पर्यटकीय क्षेत्रमा ३५ होटलले घोडा पालेको उनको भनाई छ । तीनै घोडाहरु प्रतिस्पर्धामा आउने छन् ।

सहभागिताकै आधारमा समितिले एक पटकमा बढीमा १० जना राईडरलाई दौडाईने छ । त्यसपछि फेरी एक समूहलाई पठाईने छ । सहभागिले पारको दुरीको समय अनुसार नजितासँगै विजेता घोषणा गरिने छ । घान्द्रुक पुग्ने तल्लो जिप स्टेशन मत्क्यँुदेखि माथिल्लो स्टेशन खोलाभ्रोंसम्मको दुरी तय गरिएको छ । ३ किलोमिटरको दुरीलाई गतवर्ष १३ मिनेट ५४ सेकेण्डको समय लगाएर पुरा गरी दिपेन्द्र विक प्रथम भएका थिए । घोडा रेसबाट बचत रकमलाई पर्यटकीय पैदल यात्रालाई मर्मत सम्भार गरी अझ व्यवस्थित बनाउने लक्ष्य समेत राखिएको छ । खर्च ७ लाख ५० हजार हुने अनुमान गरिएको छ ।

प्रतियोगिताको विजेताले नगद ५० हजार, दोस्रो हुनेले ३० र तेस्रो हुनेले २० हजार रुपैयाँ पुरस्कार राशी पाउने छ । पछिल्लो समय घान्द्रुकमा मोटरबाटोले घोडा पालन गर्ने व्यवसायीहरु घट्दै गएका छन् । यद्यपी केही व्यवसायीले भने शौखको रुपमा पाल्दै आएका छन् । एउटा घोडालाई सामान्यत १ लाख रुपैयाँ पर्ने गरेको छ । अधिकतम भने २ लाख रुपैयाँसम्म पर्छ ।

कमेन्टहरु
Loading...