दोश्रो गार्डेन कप ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता शुरु

पोखरा, १३ फागुन / गार्डेन युवा क्लवको आयोजनामा सोमबारदेखि पोखरामा दोश्रो गार्डेन कप सेभेन ए साइड फुटवल प्रतियोगिता–२०७६ शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा संगम एकेडेमी विजयी भएको छ । संगमले आयोजक गार्डेनको जुनियर टिमलाई टाई ब्रेकरमा ३–२ गोलले पराजित गरेको हो ।

फुलबारी स्थित मणिपाल शिक्षण अस्पतालको खेल मैदानमा भएको प्रतिस्प्रधात्मक खेलको निर्धारित समयमा दुवैतर्फबाट कुनै गोल हुन नसकेपछि खेल टाई ब्रेकरमा धकेलिएको थियो । टाई ब्रेकरमा गार्डेनका वबि भुजेलको प्रहार संगमका किप्पर अन्जन क्षेत्रीले बचाएका थिए । संगमको तर्फबाट प्रशन्न श्रेष्ठ, सम्भव तामाङ्ग र मनोज गुरुङ्गको प्रहार गोलमा परणत भएको थियो । गार्डेनका कृष्ण तामाङ्ग र रबि बाँस्तोलाको प्रहार खेर गएन ।

यसअघि पोखरा महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष मोहनप्रसाद बाँस्तोलाले रेफ्री सन्तोष गुरुङ्गलाई बल हस्तान्तरण गर्दैै प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगिता उद्घाटन गर्दै अध्यक्ष बाँस्तोलाले एक वडा एक खेलमैदानको अवधारणा अघि सारेको भएपनि फुलबारीमा खेल्न योग्य मैदान मणिपाल अस्पतालको मात्रै भएको बताए । वडाले काहुँमा मैदानको खोजी गरिरहेको पनि उनले जनाकारी दिए ।

कार्यक्रमका विशेष अतिथि मणिपाल शिक्षण अस्पतालका प्रशासन प्रमुख भानु भारद्वाजले गार्डेन क्लवले मणिपालको मैदानमा फुटबल आयोजना गरि खेलकुदलाई स्वास्थ्य क्षेत्रसंग जोड्ने काम गरेको भन्दै खुसि व्यक्त गरे । अर्का विशेष अतिथि क्लवका सल्लाहकार किरण केसीले मानव स्वास्थ्यका लागि खेलकुदको महत्व रहेको बताउँदै सभ्य र अनुशासित समाज निर्माणमा पनि खेलकुद सकारात्मक पक्ष भएको औल्याए । क्लवका संस्थापक अध्यक्ष मिलन गुरुङ्गले अब गार्डेन क्लव आगामी दिनमा खेलकुदसंगै सामाजिक कार्यमा पनि सक्रिय बन्ने बताए ।

क्लवका अध्यक्ष विनोद गुरुङ्गको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रतियोगिता संयोजक सन्तोष कार्कीले स्वागत तथा पूर्वाध्यक्ष लोकमान गुरुङ्गले कार्यक्रम सञ्चालन गरेका थिए ।
आगामी १७ गते सम्म चल्ने प्रतियोगितामा विभिन्न २९ क्लवले सहभागिता जनाएका छन् ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख २५ हजार सहित शिल्ड मेडल प्रमाणपत्र, द्वितिय हुने टिमले नगद ७० हजार सहित शिल्ड मेडल प्रमाणपत्र प्राप्त गर्ने छ । त्यसैगरि सर्वोत्कृष्ट खेलाडी र सर्वोत्कृष्ट गोलकिपरलाई नगद ५/५ हजार सहित ट्रफि प्रदान गरिने छ भने सेमिफाइनलिष्ट दुई टिमलाई नगद १०/१० हजार प्रदान गरिने क्लवले जनाएको छ ।

कमेन्टहरु
Loading...