Ganthan News Pokhara
All news from Pokhara & around

राष्ट्रिय भलिबल प्रतियोगिता जाने गण्डकी प्रदेश टोलीको बिदाई

0

पोखरा, २० बैशाख/ताप्लेजुङमा आयोजित तेस्रो पाथीभरा राष्ट्रिय भलिबल प्रतियोगिताको लागि गण्डकी प्रदेशको पुरुष टिम प्रतिस्पर्धाको लागि प्रस्थान गरेको छ ।

सञ्जुविक्रम शाहको कप्तानीमा १५ सदस्यीय टोली प्रस्थान गरेको हो । टोलीमा कमल सुनार, हरि पाण्डे, सुजन चोखाल, युवराज भण्डारी, राजन दर्लामी, काजी केसी, रुपेन्द्र गैह्रे, ठगबहादुर गुरुङ, आशिष रायमाझी, रवी सेन्चुरी, झमानसिंह परियार,रहेका छन् । अफिसियलमा नविन गुरुङ(मुख्य प्रशिक्षक), राजकुमार गुरुङ(सहायक प्रशिक्षक) र चिनु छन्त्याल(व्यवस्थापक) रहेका छन् ।

नेपाल भलिबल संघका केन्द्रीय सल्लाहकार एवं पोखरा महानगरपालिकाका बरिष्ठ कानूनी अधिकृत नारायणप्रसाद शर्मा, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका पुर्व सदस्य देवेन्द्र केसी, नेपाल भलिबल संघका केन्द्रीय सदस्य राजकुमार गुरुङ तथा कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले शुक्रबार टोलीलाई शुभकामनासहित बिदाई गरे ।

हाल हङकङमा रहेकी शुस शाही ठकुरीले गण्डकी प्रदेशको टोलीलाई जर्सी प्रायोजन गरिदिएकी छन् । पर्यटन प्रवद्र्धनको लागि भलिबल भन्ने नारासहित ताप्लेजुङको मैवाखोला गाउँपालिकामा आयोजित प्रतियोगिता बैशाख २२ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, शसस्त्र प्रहरी बल, विश्वविद्यालय किर्तिपुर, प्रदेश नं १, प्रदेश नं २, प्रदेश नं ३, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशले प्रतिस्पर्धा गर्ने छन् ।

स्थानीय जलजले क्लब साँघु, मैवाखेला क्लब ढुंगेसाँघु न्यु पाथीभरा क्लब फाकुम्बाको आयोजना रहेको छ । ईश्वरी पौडेल, रमेश बराल र बलबहादुर तामाङले प्रतियोगितामा प्रायोजन गरेका छन् । प्रतियोगितामा विजेताले टिमले ३ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छ । उपविजेताले १ लाख ७६ हजार रुपैयाँ, तेस्रो र चौथो हुनेलाई सन्त्वना पुरस्कार स्वरुप ५० हजार रुपैयाँ प्रदान गरिने छ ।

विधिागत पुरस्कार विजेता खेलाडीलाई नगद ७ हजार रुपैयाँ प्रदान गरिने छ भने सर्वोत्कृष्ठ खेलाडीलाई नगद १५ हजार र म्यान अफ दि म्याच पुरस्कारलाई २ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएका छन् । प्रतियोगितालाई मैवाखेला गाउँपालिका ताप्लेजुङले व्यवस्थापन गर्ने छ भने मैवाखोला समाज काठमाडौंले सह व्यवस्थापनको भूमिका खेल्ने छ ।

अरु सम्बन्धित खबरहरु