ज्याभलिन थ्रोमा गोरखाका निशानलाई स्वर्ण

पोखरा, ५ फागुन/गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिताको दोस्रो दिन शनिबार टेबल टेनिसको महिला तर्फ कास्कीकी मुनाले स्वर्ण पदक जितिन् । कास्कीकै पार्वती श्रेष्ठले रजत र नवलपुरकी प्रमिशा न्यौपानेले कास्य पदक जितेकी हुन् । पुरुष तर्फको प्रतिस्पर्धामा कास्कीका शकंर धितालले स्वर्ण पदक जिते । बागलुङका सुजन कुवँरले रजत र कास्कीका अनुष कुवँरले कास्य पदक जिते ।

शनिबार भएको ज्याभलिन थ्रो प्रतिस्पर्धामा पुरुष तर्फ गोरखाका निशान गुरुङले स्वर्ण आफनो नाममा लेखाउन सफल भए । उनले ४०.९७ मिटर टाढा फाल्दै स्वर्ण पदक जितेका थिए । स्याङजाका चित्रबहादुर थापाले ४०.७४ मिटरको दुरीसम्म फाल्दै रजत र निरज महतो(नवलपुर)ले ३९.८० मिटर फालेर कास्य पदक जिते । यसैगरी महिला तर्फको प्रतिस्पर्धामा तनहुँकी सुमित्रा थापाले २८.९० मिटर फालेर स्वर्ण पदक जित्दा कास्कीकी सोनु नेपालीले २६.९७ मिटर फालेर रजत र गोरखाकी सविता तामाङले २२.९१ मिटरको दुरी फाल्दै कास्य पदक जितिन् ।

एथलेटिक्स अन्तर्गत ८०० मिटर पुरुष तर्फको प्रतिस्धर्पामा लमजुङका सुजन विकले २ मिनेट १५.२१ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जिते । मनाङका प्रकाश गुरुङले २ मिनेट १६.३१ सेकेण्डको समय लगाउँदै रजत र गोरखाका आशिष बस्नेतले २ मिनेट १८ सेकेण्डको समय लगाए । महिला तर्फको प्रतिस्पर्धामा भने कास्कीकी ललिता लामिछानेले २ मिनेट ४५.९ सेकेण्डको समयमै पार गर्दै स्वर्ण पदक शीरमा लगाईन् । स्याङजाकी जानकी खनालले २ मिनेट ५१.०५ सेकेण्डको समयमा पुरा गरेर रजत र नवलपुरकी मालती चौधरीले २ मिनेट ५४.०९ सेकेण्डको समय लगाउँदै कास्य पदकमा चित्त बुझाईन् ।

४०० मिटर पुरुष प्रतिस्पर्धामा तनहुँका दानबहादुर बराल मगरले ०.५४ सेकेण्डको समय लगाउँदै स्वर्ण पदक आफनो नाममा लेखाए । नवलपुरका समीर महतोले ०.५६ सेकेण्डको समयमा टचलाईन पार गर्दै रजत र म्याग्दीका ईश्वर सेन्चुरीले ०.५७ सेकेण्डको समयमा पुरा गरी कास्य पदक जिते । महिला तर्फको प्रतिस्पर्धामा नवलपुरकी कल्पना श्रेष्ठले (१ मिनेट ०६ सेकेण्ड)स्वर्ण पदक जितिन् । कास्कीकी अनिषा भण्डारीले रजत पदक(१ मिनेट १३.२० सेकेण्ड) र गोरखाकी सुष्मिता काराखेतीले कास्य पदक(१ मिनेट २० सेकेण्ड) जितिन् ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी स्वरुप पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा सञ्चालित गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिताको विधिवत उदघाटन गर्दै राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पीताम्बर तिमिल्सिनाले सागका एक खेल पोखरामा सञ्चालन गर्न सकिने बताए । परिषदका सदस्य सचिवले पोखरामा सागका ६ खेल खेलाईने दोहोर्याईरहदाँ उपाध्यक्षको यस्तो अभिव्यक्तिले पोखराको खेलकुद जगत नै तरंगित बन्न पुगेको छ । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले पनि पोखरामा सागका ६ खेल खेलाउने सार्वजनिक गर्दै आएका छन् ।

उदघाटनपछि विजेता खेलाडीहरुलाई उपाध्यक्ष तिमिल्सिना, परिषद बोर्ड सदस्य राजेश गुरुङ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठ लगायतले पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

कमेन्टहरु
Loading...