गण्डकी प्रदेशलाई सुटिङमा स्वर्ण पदक

पोखरा, ९ बैशाख /आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशले सुटिङमा ऐतिहासिक स्वर्ण पदक जितेको छ ।

संघीय संरचनामा प्रवेश गरेपछिको पहिलो संस्करणको रुपमा नेपालगन्जमा आयोजित खेलकुद प्रतियोगितामा खेलकुदको शहर पोखरासँगै आसपासका ११ जिल्ला सम्मिलित गण्डकी प्रदेशले अहिलेसम्म १२ स्वर्ण पदक जितेको छ । राष्ट्रिय खेलकुद प्रतियोगिता बैशाख ११ गते समापन हुने छ ।

स्क्वासबाट स्वर्ण पदक जित्दै खाता खोलेको गण्डकी प्रदेशले सोमबार मात्रै ५ स्वर्ण पदक जित्यो । पोखरामै आयोजित प्याराग्लाइडिङ तर्फ २ स्वर्ण पदक जितेको गण्डकी प्रदेशले सुटिङमा दुई स्वर्ण पदक जित्दै इतिहास लेख्यो ।

सुटिङमा महिला तर्फ १० मिटर एयर पेष्टोलमा बाग्लुङकी श्रेया केसीले स्वर्ण पदक जितेकी हुन् । बाग्लुङकी भगवत केसीले नेपालको प्रतिनिधित्व गर्दै ओलम्पिकको सुटिङ रेन्जमा आफुलाई उभ्याईसकेकी छन् ।

त्यसैगरी १० मिटर एयर पेष्टोलमा पुरुष तर्फ कास्कीका विजय कार्कीले स्वर्ण पदक दिलाए । १० मिटर एयर पेष्टोलमै मिक्स्ड तर्फ श्रेया केसी र केबी पुनले सिल्भर मेडल दिलाएका छन् ।

सोमबार भएको सितेरियो कराँतेमा पुरुष ६७ केजी तौल समूहमा नविन रसाईलीले स्वर्ण पदक जितेका हुन् । गण्डकी प्रदेशले सबैभन्दा धेरै स्वर्ण पदक फुल कन्ट्याक्न्टमा जितेर इतिहास रचेको छ । चार स्वर्ण पदक जितेर नेपागन्जबाट टोली पोखरा फर्किएको थियो ।

कमेन्टहरु
Loading...