भदौ दोस्रो साता गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष कराँते प्रतियोगिता

पोखरा, १५ साउन / नेपाल क्योकुशिन कान कराँते संघ कास्कीले आगामी भदौ १३ र १४ गते पोखरामा गण्डकी प्रदेशस्तरीय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ ।

हरितालिका तीजको अवसरमा संघले महिला तथा पुरुषको विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्ने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

संघका अध्यक्ष बेलबहादुर थापाका अनुसार पुरुष तर्फ ८ वटा तौल समूहमा र महिला तर्फ तीन तौल समूहमा प्रतिस्पर्धा गराईने छ । प्रतियोगितामा पुरुषतर्फ २५ केजी, ३० केजी, ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी र ६० केजी मुनिको तौल समूहमा प्रतिस्पर्धा गराईने छ । महिला तर्फ ४० केजी, ४५ केजी र खुल्ला तौल समूहमा प्रतिस्पर्धा गराईने अध्यक्ष थापाले जानकारी दिए ।

संघले वर्षेनी पोखराको पवित्र धार्मिक स्थल ढुंगेसाँघुमा माघे संक्रान्तिको अवसरमा वर्षेनी फुल कन्ट्याक्न्ट प्रतियोगिता आयोजना गर्दै आएको छ । संघले प्रतियोगिताबाट विजेता खेलाडीलाई पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेलाडी बन्द प्रशिक्षणमा राखिने छ । ‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि अहिले देखि नै तयारी गर्ने योजनासहित प्रतियोगिता आयोजना गरेका हौं ।’

कराँतेका पश्चिमाञ्चल प्रमुख एवं प्रतियोगिताका संयोजक दिपकबहादुर गोदारले भने–‘त्यस लगत्तै माघमा अर्को प्रतियोगिता आयोजना गर्छौ । त्यसबाट पनि उत्कृष्ट खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर प्रशिक्षण गराउने छौं ।’

प्रतियोगितामा प्रत्येक तौल समूहका विजेतालाई शिल्ड, पदक तथा प्रमाणपत्र प्रदान गरिने छ । महिला तथा पुरुष उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा कास्कीसहित, गण्डकी प्रदेशका ११ जिल्लाबाट खेलाडीको सहभागिता रहने विश्वास गरिएको छ ।

पर्वत, म्याग्दी, बाग्लुङ, तनहुँ, स्याङजा, गोरखा, नवलपुरसहित मनाङ र मुस्ताङबाट समेत खेलाडीको सहभागिता हुने अपेक्षा गरिएको छ । हिमालीपारीको जिल्लामा भने कराँतेको प्रभावकारीता भने कम छ ।

५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । पोखरा रंगशाला परिसरकै बहुउद्देश्यीय कभर्डहलमै प्रतियोगिता आयोजना गरिने छ । कराँतेले नेपालगन्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ४ स्वर्ण, ३ रजत र २ कास्य पदक गण्डकी प्रदेशले जित्दै टिम च्याम्पियन बनेको थियो ।

कमेन्टहरु
Loading...