दक्षिण एशियाली सेभेन ए साइड फुटबलको फाईनलमा नेपाल र बंगलादेश भिड्ने

पोखरा, २ माघ/पोखरामा जारी १२ औं संस्करणको दक्षिण एशियाली सेभेन ए साइड फुटबल प्रतियोगितामा नेपाल र बंगलादेश फाईनल प्रवेश गरेका छन् । मंगलबार पोखराको लेकसाईडस्थित बाराहीघाट खेल मैदानमा भएको पहिलो सेमिफाईनलमा पाकिस्तानलाई ४—१ गोल अन्तरले पराजित गर्दै फाईनल प्रवेश गरेको हो भने बंगलादेशले भुटानलाई टाइब्रेकरमा ३—२ गोलले पाखा लगायो ।

नेपालका लागि विनोद गुरुङले ह्याट्रिक पुरा गरे । म्यान अफ दि म्याचबाट पुरस्कृत गुरुङले १५, ४१ र ४३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । एक गोल भने बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका सुनिल विकको नाममा रह्यो । शुशिल लामाको स्थानमा छिरेका विकले ३३ औं मिनेटमा गोल गरेका थिए ।

पाकिस्तानका लागि रसिद अहरामले २० औं मिनेटमा गरेका थिए । नेपालको तर्फबाट गोल भएपछि दवाबमा रहेको पाकिस्तानले हाफ हुन अघि बराबरी गोल गरेपछि नेपाली टिम दवाबमा खेल्न पुग्यो । यद्यपी खेल मिलाउँदै नेपालले दोस्रो हाफमा लय समाउँदै तीन गोल गरेपछि फाईनलको यात्रा सुनिश्चित बन्यो ।

यसैगरी अर्को सेमिफाईनल खेलमा बंगलादेशले भुटानलाई टाइब्रेकरमा ३—२ पराजित गर्दै फाईनल प्रवेश गरेको छ । निर्धारित समयमा गोलरहित टुंगिएपछि निर्णय पेनाल्टी सुटमा गरिएको थियो । उज्वल खान, सजिब र तुहिनले बंगलादेशको लागि गोल गर्दा राकेश, सम्पाउको गोल भएपनि भुटानी अर्का खेलाडी दह्यामको प्रहार सेभ भएपछि भुटान निराश हुन पुग्यो ।

खेलमा भुटानी गोलकिपर प्रवेश म्यान अफ दि म्याच घोषित भए । नेपाल सेभेन ए साइड फुटबल फेडेरेशनको आयोजनामा गत पुस २९ गतेदेखि आयोजित प्रतियोगितामा नेपालले उपाधिको लागि बंगलादेशसँग मंगलबार प्रतिस्पर्धा गर्ने छ ।

कमेन्टहरु
Loading...