एक्सपर्ट कलेज प्रिमियर लिग क्रिकेटमा सत्यवती र पोखरा विश्वविद्यालय सेमीफाईनलमा

पोखरा, १० फागुन /अघिल्लो दिन १९ रनले पराजित गरेको सत्यवतीले बिहीबार न्यु ग्यालेक्सीलाई लिगको दोस्रो खेलमा रोमाञ्चक दुई रनले पराजित गर्दै तेस्रो एक्सपर्ट कलेज प्रिमियर लिग क्रिकेटको सेमीमफाईनल प्रवेश गरेको छ । न्यु ग्यालेक्सीले सेमीफाईनल प्रवेशको लागि १७ ओभरमा लक्ष्य पुरा गर्नुपर्ने थियो ।

१२९ रनको लक्ष्यलाई न्यु ग्यालेक्सीले उत्कृष्ठ शुरुवात गरेपनि अन्तिम समयमा व्याट्सम्यानले डटबल खेलेपछि नतिजा पाहुना टोली सत्यवतीको पक्षमा गयो । अन्तिम ओभरमा जितको लागि ८ रन खाँचो थियो । दुई विकेट बाँकी थियो । त्यही ओभरमा दुई विकेट गुमाउदैै पराजित हुदैं प्रतियोगिताबाट बाहिरियो ।

टस जितेर व्याटिङ गरेको सत्यवतीले पाँच विकेटको क्षतिमा १२८ रन बनायो । मिलन थापा मगरले ५९ बलमा ४१ रनको महत्वपूर्ण योगदान दिए । अर्जुन श्रेष्ठले २३ बलमा २५ रन ठोके । विनल सुनारले २५ बलमा २४ रनको योगदान गरे । २४ वाईड, ४ लेगबाई र एक बाई गर्दै २९ रन अतिरिक्त थपिएको थियो । अनिष जिसी, संगम गौतम, पेप गुरुङले एक एक विकेट लिए ।

सेमीफाईनल प्रवेश गर्न न्यु ग्यालेक्सीलाई जितले मात्रै सम्भव थिएन् । राम्रो रनरेटको लागि १७ ओभरमै पुरा गर्नुपर्ने चुनौति थियो । किशोर छन्त्यालले दुई चौका र एक छक्का मद्धतमा २१ बलमा २५ रन निकाले । राजु थापाले १८ बलमा २२ रन बनाई आउट भए । विजय विकले ३० बलमा १८ रन बनाउँदै रनआउटको शिकार भए । ९ बाई, ४ लेगबाई र २४ वाईड फाल्दै ३७ रन अतिरिक्त दिए । १७ ओभरमा खेल जित्ने आशा देखाएको न्यु ग्यालेक्सी अन्तत १८ ओभरमा अलआउट हुदैं केवल १२६ रनमा समेटियो ।

सत्यवतीका कप्तान विनय भण्डारीले ४ ओभर १९ रन ४ विकेट लिए । शुशिल गिरी र विमल सुनारले २—२ विकेट लिए । म्यान अफ दि म्याच कप्तान विनय भण्डारी भए । उनलाई कास्की जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष एवं खेलाडी संघ कास्कीका अध्यक्ष दिपकबहादुर गोदारले म्यान अफ दि म्याचको ट्रफी प्रदान गरे ।

दोस्रो खेल वर्षाको कारणले स्थागित हुन पुग्यो । दोस्रो खेल स्याङजा बहुमुखी क्याम्पस र पृथ्वीनारायण क्याम्पस बीचको खेल स्थगित भएको हो । दुवैले एक एक अंक बाँडे । स्याङजाले शुक्रबार जनप्रिय बहुमुखी क्याम्पससँग प्रतिस्पर्धा गर्ने छ । पृथ्वीनारायण क्याम्पस तीन अंक छ । सेमीफाईनल प्रवेशका लागि स्याङजाले जनप्रियलाई राम्रो रनरेटको आधार जित निकाल्नुपर्छ ।

कमेन्टहरु
Loading...