कुमुदिनी होम्स र सत्यवती एक्सपर्ट कलेज क्रिकेटको फाईनलमा

पोखरा, १२ फागुन /स्याङजा बहुमुखी क्याम्पसलाई ३९ रनले पराजित गर्दै सत्यवती उच्चमावि दमौली तेस्रो एक्सपर्ट कलेज प्रिमियर लिग क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शनिबार पहिलो सेमिफाईनल खेल्दै गत वर्षको विद्यालयस्तरीय एक्सपर्ट क्रिकेट लिगको विजेता समेत रहेको सत्यवतीले स्याङजालाई ६७ रनमै खुम्च्याएपछि फाईनल सुरक्षित गरेको हो ।

१०७ रनको लक्ष्य पछ्याएको स्याङजाका रामु थापाले ३५ रन बाहेक अन्य व्याट्सम्यान भने दोहोरो अंकको रन विहीन हुदैं पवेलियन फर्किएपछि सत्यवतीले फाईनल पुग्दै खुशीयाली बनायो । जितपछि सेल्फी लिदैं खुशीयाली मनाएको सत्यवतीले कलेज प्रिमियर लिगको उपाधिको लागि कुमुदिनी होम्स गैह्रपाटन पोखरासँग खेल्ने छ । म्यान अफ दि म्याच विनय भण्डारीले चार विकेट लिएपछि स्याङजा धरासायी बन्न पुग्यो ।

पहिलो ओभरमै दुई विकेट गुमाएपछि दवावमा रहेको स्याङजाले एकपछिअर्को विकेट गुमाएपछि सस्तैमा अलआउट हुन पुग्यो । सौरभ अली र शुशिल गिरीले २—२ विकेट लिए । स्याङजाका चार व्याट्सम्यान शून्यमै आउट भएका थिए ।
टस जितेर व्याटिङ रोजेको सत्यवतीले १०६ रन बनाई इनिङ टुंग्यायो । रुपक बरालले ४३ बलमा २८ रनको योगदान दिए । विनय भण्डारीले २७ बलमा २४ रन बनाए । अर्जुन श्रेष्ठले ३६ बलमा २६ रनको योगदान दिए । किस्मतजंग कार्कीले दुई विकेट लिए । अशोक श्रेष्ठ, विपिन काफ्ले र विश्व थापाले एक एक विकेट लिए ।

यसैगरी पोखरा विश्वविद्यालयलाई ३१ रनले पराजित गर्दै कुमुदिनी होम्स फाईनलमा प्रवेश गरेको छ । टस जितेर व्याटिङ गरेको कुमुदिनी होम्सले २० ओभर पुरै खेल्दै ९ विकेटको क्षतिमा ११६ रन बनायो । साहिल कार्कीले १९ बलमा २७ रन हिर्काए । विकास अधिकारीले २६ बलमा २३ रन बनाए । बलिङ तर्फ सुमन रसाईलीले चार ओभरमा ३१ रन दिदैं ३ विकेट लिए ।
११७ रनको लक्ष्य पछ्याएको पोखरा विश्वविद्यालय भने १६ ओभर २ बल खेल्दै ८५ रनमा समेटियो ।

सुमन रसाईलीले २२ रन, कप्तान सागर कोइरालाले १७ रन र सन्देश रेग्मीले १४ रन जोडे । विश्वास पराजुलीले चार ओभर एक मेडन राख्दै १३ रनको खर्चमा ५ विकेट लिए । एकै खेलमा पाँच विकेट लिएको यो पहिलो हो । सम्राट खनालले दुई विकेट लिए । पाँच विकेट लिएका विश्वास पराजुली म्यान अफ दि म्याच घोषित भए । उनलाई प्रतियोगिताका सयोजक तथा क्रिकेटका राष्ट्रिय खेलाडी विधान श्रेष्ठले ट्रफी हस्तान्तरण गरे ।

कमेन्टहरु
Loading...