न्यु ग्यालेक्सी माथि सत्यवतीको जित, गण्डकी बोर्डिङलाई प्रतियोगिताबाट हटाईयो

पोखरा, ९ फागुन /सत्यवती मावि दमौलीले पोखराको न्यु ग्यालेक्सी उच्चमाविलाई तेस्रो एक्सपर्ट कलेज प्रिमियर क्रिकेट लिगमा बुधबार १९ रनले पराजित गरेको छ । गत वर्षको विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको विजेता समेत रहेको सत्यवतीले टस जितेर व्याटिङ गर्दै ९ विकेटको क्षतिमा ११३ रन बनायो । रुपक बरालले ३९ बलमा ४ चौकासहित ४० हिर्काए । मिलन थापा मगरले १४ र विनय भण्डारीले १३ रन बनाए ।

पेप गुरुङ(न्युु ग्यालेक्सी)ले चार ओभरमा २१ रन दिएर ३ विकेट लिए । सन्देश छन्त्याल, अभिषेक सिंह ठकुरी, अनिष जिसी र राजु थापाले पनि एक एक विकेट लिए ।  ११४ रनको लक्ष्य पछ्याएको न्यु ग्यालेक्सी ९४ रनमा अलआउट हुन पुग्यो । विजय विकले २२ रनको योगदान दिए । सुगम गौतम र पेप गुरुङले १०—१० रन बनाए । अन्य व्याट्सम्यानले भने दोहोरो अंकको स्कोर बनाउन सकेनन् । न्यु ग्यालेक्सीको स्कोर बोर्डमा ३१ रन अतिरिक्त जोडियो ।

जुन व्याट्स म्यानको व्याटबाट निस्किएको भन्दा बढी रन हो । बलिङ तर्फ विमल सुनारले चार ओभरमा २० रन दिएर चार विकेट लिए । उनी खेलको म्यान अफ दि म्याच घोषित भए । उनलाई कास्की जिल्ला क्रिकेट संघका कोषाध्यक्ष चन्द्रकुमार गुरुङ(जिम्मी)ले म्यान अफ दि म्याचको पदक प्रदान गरे ।

सार्वजनिक गरिएको खेल तालिका अनुसार पहिलो खेल गण्डकी बोर्डिङ स्कुल लामाचौर र अमरसिंह नमूना उच्चमाविको खेल भएपनि अन्तिम समयमा आएर गण्डकीले प्रतियोगितामा सहभागिता नजनाउने निर्णय गरेपछि बुधबार एक खेल मात्रै खेलाईएको थियो ।

गण्डकीलाई प्रतियोगिताबाटै हटाईएको र आगामी दिनमा आयोजना गरिने क्रिकेट प्रतियोगितामा समेत सहभागिता नगराउने निर्णय प्रतियोगिताका संयोजक विधान श्रेष्ठले बताए । बिहीबारको पहिलो खेल सत्यवतीले पोखरा विश्वविद्यालयसँग खेल्ने छ भने दोस्रो खेल पृथ्वीनारायाण बहुमुखी क्याम्पसले स्याङजा बहुमुखी क्याम्पससँग खेल्ने छ ।

कमेन्टहरु
Loading...