घलेलमा क्यान्योनिङ तालिम सुरू

पोखरा, २६ माघ/कास्कीको पर्यटकीय गाउँ घलेलको कुदिछहरामा क्यान्योनिङको सफल परीक्षण गरिएपछि स्थानीय बौद्धसिर्जना युवा क्लबले गाउँमै तत्सम्बन्धी प्रारम्भिक तहको तालिम सञ्चालन शुरु गरेको छ । साहसिक खेल क्यान्योनिङको विकास र विस्तार गरी घलेलगाउँको पर्यटन प्रवद्र्धन गर्न तालिम सञ्चालन गरिएको आयोजकले बताएको छ ।

तालिममा कास्की, लमजुङ, सिन्धुपाल्चोक जिल्लाका कूल १३ जना सहभागी भएको आयोजक क्लबका अध्यक्ष रामबहादुर गुरुङले जानकारी दिए । पाँचदिनसम्म चल्ने तालिमका सहभागीलाई प्राविधिक र सैद्धान्तिक दुवै ज्ञान प्रदान गरिने छ । सहभागीहरूलाई अमेरिकन क्यान्योनिङ एकेडेमीका वरिष्ठ प्रशिक्षक रिच कार्लसनको टोलीले प्रशिक्षण दिएको छ । तालिमका लागि चाहिने उपकरणहरु फ्रेण्ड एडभान्चरले सहयोग गरेको छ नेपाल क्यान्योनिङ एशोसियशन, नेपाल पर्यटन बोर्ड, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ट्रेकिङ एजेण्ट एशोसियशन नेपाल, ल्वाङघलेल गाविस लगायतका संस्थाले सहयोग गरेका छन् ।

पोखरामा क्यानोनिङ
पोखरामा क्यानोनिङ

यसअघि तालिमको शुभारम्भ गर्दै अमेरिकन क्यान्योनिक एकाडमिका वरिष्ठ प्रशिक्षक रिच कार्लसनले नेपालको पर्यटकीय गाउँ घलेलमा आएर सहभागीहरुलाई क्यान्योनिकसम्बन्धी तालिम दिन पाउँदा खुशी लागेको धारणा व्यक्त गरे । फ्रेण्ड एडभान्चरका निर्देशक डेविन्द्र लामाले नेपालका हिमाली क्षेत्र क्यान्योनिका लागि उपयुक्त भएको भन्दै त्यसको अन्वेषण गरिनुपर्ने खाँचो औल्याए ।

बौद्धसिर्जना युवा क्लबका अध्यक्ष रामबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा माछापुच्छ«े मोडल ट्रेक ल्वाङघलेलका अध्यक्ष राजेन्द्र गुरुङ, स्थानीय युवा भक्तबहादुर विश्वकर्मा लगायतका वक्ताहरूले पर्यटकीय गाउँ घलेलको पर्यटन प्रवद्र्धन गर्न कुदिछहरा नयाँसम्पदाका रूपमा पहिचान गर्न सफल भएकोमा खुशी व्यक्त गरेका थिए । यसअघि माघ १५, १६ र १७ गते स्थानीय कुदिछहरामा क्यान्योनिङको परीक्षण अभ्यास र १८ गते अभ्यास खेल प्रदर्शन गरिएको थियो ।

डोरीको सहायताले ठूला र डरलाग्दो झर्नाबाट झर्ने खेल नै क्यान्योनिङ हो । पर्यटकीय साहसिक खेलका रूपमा विकास हुँदै आएको यो खेल नेपालका भोटेकोशी, सुनकोशी, काठमाण्डौंको ककनीलगायतका सीमित स्थानमा मात्र खेलिदैं आएको छ ।

कमेन्टहरु
Loading...