दोस्रो विष्णु तिमिल्सिना स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिता तयारी

पोखरा, ६ पुस /विष्णुपादुका क्लब हेमजाको आयोजनामा हुन लागेको दोस्रो विष्णु तिमिल्सिना स्मृति हेमजा सेभेन ए साइड फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।विष्णु पादुका फुटबल एकेडेमीको सहयोगार्थमा हुने उक्त प्रतियोगिता पुस ७ देखि १४ गते सम्म विष्णु पादुका खेल मैदान पोखरा–२५ हेमजामा सञ्चालन हुने छ ।

प्रतियोगितालाई सफल बनाउनका लागि गठिन मुल आयोजक समिति र विभिन्न उपसमितिले आ–आफ्नो काम अन्तिम चरणमा पु¥याएको विष्णु पादुका क्लबका अध्यक्ष कृष्ण खड्काले जानकारी दिए ।‘विष्णु पादुका क्लबले गरेका हरेक गतिविधिमा यहाँहरुको सहयोग र साथ रहेको छ’,अध्यक्ष खड्काले भने,‘यो प्रतियोगिता सफलबनाउन पनि सवैको साथको अपेक्षा गरेका छौं ।’प्रतियोगिताको उद्घाटन नेपाल सरकारका संघीय खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माल गर्ने भएका छन् ।

‘मैत्रीभाव तथा स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल उद्घोषका साथ युवाहरुलाई रचनात्मक कार्यमा संलग्न गराउँदै राष्ट्रको खेलकुद विकासमा टेवा पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।प्रतियोगितामा प्रथम टिमलाई १ लाख ११ हजार १ सय ११ ट्रफी, मेडल र प्रमाण पत्र तथा दोस्रो हुने टिमलाई ५५ हजार ५ सय ५५ ट्रफी मेडल र प्रमाण पत्र रहेको अध्यक्ष खड्काले जानकारी दिए ।त्यसैगरी अनुशासित टिमलाई १० हजार ट्रफी मेडल प्रमाण पत्र, सर्वोकृष्ट खेलाडीलाई ५ हजार ट्रफी मेडल प्रमाण पत्र रहेको छ भने सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट फरवार्डलाई ३÷३ हजार ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।

प्रतियोगिताको सेमिफाइनलमा पुग्ने टिमलाई पनि १० हजार रुपैया पुरस्कार रहेको छ । प्रतियोगितामा टिम दर्ता शुल्क ६ हजार रहेको छ । प्रतियोगितामा ५० टिमको सहभागिता हुने अपेक्षा गरिएको छ ।प्रतियोगिता सफल बनाउनका लागि हेमजामा भएको एक भेलाले विष्णुपादुका क्लबका सल्लाहकार जगतबहादुर थापाको संयोजकत्वमा मुल आयोजक समिति गठन गरेको छ ।प्रतियोगिता सम्पन्न गर्नका लागि करिव ९ लाख २१ हजार ६ सय ६६ रुपैया खर्च लाग्ने अनुमान गरेको अर्थ संकलन उपसमिति संयोजक राजेन्द्र थापाले जानकारी दिए ।

कमेन्टहरु
Loading...