पोखरा, ५ असार /पोखरामा बिहीबार देखी पुरुष तथा महिला राष्ट्रिय बिच भलिबल प्रतियोगिता शुरु भएको छ । जिल्ला भलिबल संघको आयोजनामा भएको छैटौँ महिला तथा सातौँ राष्ट्रिय बिच प्रतियोगिता असार ७ गतेसम्म फेवाताल किनारको विच भलिबल कोर्टमा सञ्चालन हुनेछ ।
उद्घाटन खेलमा शसस्त्र प्रहरीको महिला टोलीले प्रदेश नम्बर ५ को टोलीलाई २१—१७ र २१—४ को सोझो सेटमा हरायो । त्यसै गरी पुरुष तर्फका गण्डकी प्रदेशले नेपाल पुलिस क्लबलाई २१—१२ र २१—१२ को सोझो सेटमा हरायो ।
प्रतियोगितामा नेपाल प्रहरी, सशस्त्र तथा नेपाली सेनाको गरी तीन विभागीय तथा सात प्रदेशका एक/एक टिमबाट पुरुष तथा महिला गरी २० टिमको सहभागीता रहने संघका अध्यक्ष भिम पराजुलीले जानकारी दिए ।
प्रतियोगिताको विजेता महिला तथा पुरुष टोलीले नगद ३०/३० हजार प्राप्त गर्ने छन् । त्यसै गरी दोस्रो हुने टिमले नगद २०/२० हजार तथा तेस्रो हुने टोलीले १०/१० हजार रुपैया, प्रमाणपत्र, मेडल र शिल्ड प्राप्त गर्ने छन् । त्यसै गरी उत्कृष्ट महिला तथा पुरुष दुवै खेलाडीलाई नगद ३÷३ हजारबाट पुरस्कृत गरिने उनले बताए । तीन दिनसम्म आयोजना हुने प्रतियोगिता सम्पन्न करिब २३ लाख खर्च उनले आयोजकको अनुमान छ ।
प्रतियोगिताको उद्घाटन गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहालले भलिबल राष्ट्रिय खेल भएपनि बजेटले उपेक्क्षा गरेको बताए । उनले भलिबल गाउँ गाउँ सम्म पनि खेल्न सकिने भएकाले आफु नै प्रधानमन्त्री भएका बेला राष्ट्रिय खेल घोषणा गरेको बताए ।