विच भलिबल प्रतियोगितामा शसस्त्र प्रहरी बलमाथि गण्डकी विजयी शुरुवात

पोखरा, ७ असार/नेपाल भलिबल संघको आयोजना तथा कास्की जिल्ला भलिबल संघको व्यवस्थापनमा सञ्चालित छैटौं महिला तथा सातौं पुरुष विच भलिबल प्रतियोगितामा महिला तर्फ कर्णाली प्रदेशको ए टोलीले कर्णाली प्रदेशकै बी टोलीलाई सोझो सेटमा पराजित गरेको छ ।

शुक्रबार पोखराको बाराही खेल मैदानमा भएको पहिलो खेलमा ए टोलीले बी टोलीलाई सोझो सेटमा पराजित गर्ने क्रममा २१–१७, २१–१५ को नजिता निकालेको थियो । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको ए टोलीले पनि प्रदेश नं ५ को ए टोलीलाई सोझो सेटमा २१–१७, २१–१६ ले पराजित गर्दै क्र्वाटरफाईनल प्रवेशको सम्भावना बलियो बनाएको छ ।

लिग चरणकै खेल अन्तर्गत गण्डकी प्रदेश एलाई भने प्रदेश नं १ ए ले सजिलै पन्छायो । पहिलो सेट २१–१९ले प्रतिस्पर्धात्मक रुपमा गुमाएको गण्डकीले दोस्रो सेट भने २१–१५ ले सुम्पिएको थियो । प्रदेश नं ३ को ए टोलीले प्रदेश १ को बीलाई पनि २१–१९, २१–१२ को सोझो सेटमै पराजित गरेको थियो ।

प्रदेश–३ बीलाई भने प्रदेश–५ एले २१–४, २१–११ को सेटले पराजित गरेको छ । नेपाल पुलिस क्लबको बी टोलीले प्रदेश–१ को ए टोलीलाई २१–१७, २१–१७ को सेटमा पराजित गर्दै विभागीय टोलीको बर्चस्वलाई कायमै राख्यो । शसस्त्र प्रहरी बलले पनि जित निकाल्ने क्रममा प्रदेश ३ को ए टोलीलाई २१–६, २१–५ को सेटमा सहजै पराजित गरेको थियो । शसस्त्र प्रहरीकै बी टोलीले कर्णाली प्रदेशको बीको चुनौतिलाई पनि २१–८, २१–७ ले पन्छाएको थियो ।

महिला तर्फकै अर्को खेलमा प्रदेश–५ बीले प्रदेश–१ बीलाई २१–१९ र २१–१८ को प्रतिस्पर्धात्मक सेटमा पराजित गरेको थियो । पुरुष तर्फको प्रतिस्पर्धामा भने गण्डकी प्रदेशको बी टोलीले शसस्त्र प्रहरी बल(एपीएफ)को बी टोलीमाथि जित निकाल्ने क्रममा २१–१३ र २१–१४ को सेटले पराजित गरेको थियो । त्यसैगरी प्रदेश–१ एले प्रदेश ५ लाई २१–१२ र २१–१४ को सेटले पराजित गरेको छ ।

लिगकम नकाउटको आधारमा खेलाईएको प्रतियोगितामा पुरुष १७ र महिला तर्फ १४ टोलीको सहभागिता रहेको छ । शनिबार प्रि क्र्वाटर र क्र्वाटरफाईनलका खेलहरु सञ्चालन हुने छन् । नेपाली सेनाको त्रिभुवन क्लबले प्रदेश नं ३ लाई २१–१५, २१–१२ को सोझो सेटले पराजित गरेको छ ।

प्रतियोगिताको विजेता महिला तथा पुरुष टोलीले नगद ३०/३० हजार प्राप्त गर्ने छन् । त्यसै गरी दोस्रो हुने टिमले नगद २०/२० हजार तथा तेस्रो हुने टोलीले १०/१० हजार रुपैया, प्रमाणपत्र, मेडल र शिल्ड प्राप्त गर्ने छन् ।

कमेन्टहरु
Loading...