एशियाली खेलका लागि प्याराग्लाइडिङ खेलको छनौट

पोखरा, ७ बैशाख /इण्डोनेशियाको जर्कातामा भदौ २ देखि १६ गते सम्म आयोजना हुने १८ औ एशियाली खेलकुदको प्यराग्लाइडिङ खेलाडीको अन्तिम छनौट शुक्रबार पोखरामा सम्पन्न भएको छ ।

एशियाली खेलमा पहिलो पटक समाबेश प्याराग्लाइडिङ खेलमा सहभागिता जनाउन लागेको नेपालका तर्फ बाट १० जना खेलाडीको अन्तिम नामावली नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघले घोषणा गरेको हो । छनौटमा परेका अन्तिम नामहरुमा क्रस कन्ट्री बिद्या तर्फ बिशाल थापा, शुसिल गुरुङ, शेर बहादुर गुरुङ, कृष्ण सुनुवार, बिमल अधिकारी (टिम क्याप्टेन) छन भने सोही बिद्या तर्फ बैकल्पिकमा बिजय दाहाल र निशिम थापा छन ।

यता एक्युुरेसीको बिद्यामा युबराज सुनुवार, मदन कुमार सुनुवार, युकेश गुरुङ, बिजय गौतम र अनिश भट्टराई छन भने बैकल्पिकमा बिशाल थापा र ऋषी पोडे रहेका छन । प्याराग्लाइडिङका लागि छनौट भएका नेपालले एशियाली खेलमा तिन मेडलका लागि प्रतिष्पर्धा गर्ने छन ।
शुक्रबार भएको छनौटमा राष्ट्रिय खेलकुद परिषदका सदस्य तथा राष्ट्रिय टिम तयारी समितीका संयोजक बिरेन्द्र श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद तालिम तथा प्रशिक्षण बिभाग निर्देशक रीम रानाभाट, राष्ट्रिय टिम तयारी समितीका सदस्य अर्जुन बिकको उपस्थिती रहेको थियो ।

छनौट पछि शुभकामना दिंदै कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले नेपालले प्याराग्लाइडिङ खेलमा मेडलको दावेदार भएको बताए । उनले पोखरालाई प्याराइलाइडिङ खेलको राजधानीको रुपमा बिकास गर्न एशियाली खेलमा सहभागिताले थप बल पुग्ने उनको भनाई थियो ।

कार्यक्रममा कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अशोक सिंह, नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघका महासचिब शैलेन्द्र रावत, नेपाल प्याराग्लाइडिङ खेलकुद संघ (ना) का अध्यक्ष योगेश भट्टराई, प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघका सचिब इन्द्र भण्डारी, कोषाध्यक्ष मधुकर सुबेदी, नेपाल खेलकुद पत्रकार मंचका कास्कीका अध्यक्ष केशब पाठक लगाएतले खेलाडीलाई शुभकामना र बधाई दिएका थिए ।

छनौटमा परेका खेलाडीहरु पोखरामा नै बन्द प्रशिक्षणमा बस्ने र उनीहरुलाई हावाको चाप लगाएत अन्य प्राविधिक रुपले समेत परिपक्व बनाउने मुख्य प्रशिक्षक सानुबाबु सुनुवारले बताएका छन ।

कमेन्टहरु
Loading...