एनसेल कपमा आर्मी सेमिफाईनलमा, हिमालयन शेर्पा बाहिरयो

काठमाण्डौं, २४ मंसीर/विभागीय टिम नेपाल आर्मी काठमाण्डौंमा जारी एनसेल कपको सेमिफाईनलमा प्रवेश गरेको छ । सोमबार भएको पहिलो क्वार्टरफाईनल खेलमा यति हिमालयन शेर्पा क्लबलाई ३–२ गोलले हराउँदै आर्मीले सर्वाधिक पुरस्कार राशी रहेको नकआउट प्रतियोगितामा अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा आर्मीको जीतमा टेक बुढाथोकी र टंक बस्नेतले २–२ तथा राजु तामाङले एक गोल गरे । हिमालयनका लागि पुकार गहतराजले पेनाल्टीमार्फत र सेगुनले अर्को गोल थपेका थिए । आर्मीले खेलको २२ औं मिनेटमा राजु तामाङको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा १–० गोलले अग्रता लिएको आर्मीका लागि दोस्रो हाफमा चार गोल थप्ने क्रममा ५१ औं मिनेटमा टेक बुढाथोकीले गोल गरे ।

५५ औं मिनेटमा आर्मीका विवेकप्रताप पन्तले सेगुनलाई फल गरेपछि पाएको पेनाल्टी अवसरलाई सदुपयोग गर्दै पुकार गहतराजले आर्मीको अग्रता २–१ मा झारे । ५८ औं मिनेटमा टंक बस्नेतले गोल गरेपनि आर्मीले ३–१ को अग्रता लिन सफल भयो । ७१ औं मिनेटमा टेक बुढाथोकीले व्यक्तिगत दोस्रो गोल गरे तर ७५ औं मिनेटमा हिमालयन शेर्पाका सेगुनले गोल गर्दै आर्मीको अग्रता ४–२ मा झारे । ८८ औं मिनेटमा टंक बस्नेतले व्यक्तिगत दोस्रो गोल गरेपछि आमीले ५–२ को फराकिलो जीत रच्दै क्वार्टरफाईनल प्रवेश गरेको हो ।

यसअघि, आर्मीले लिग चरणका खेलमा जावलाखेललाई २–० तथा संकटा क्लबलाई २–१ गोलले पराजित गर्दै क्वार्टरफाईनल प्रवेश गरेको थियो । यस्तै, हिमालयन शेर्पाले पहिलो खेलमा फ्रेण्डस्लाई ३–१ गोलले हराएको थियो भने मच्छिन्द्रसँग १–० गोलले पराजित रहँदै समूह बी उपविजेताका रुपमा अन्तिम आठ प्रवेश गरेको थियो । आर्मी पहिलो संस्करणमा सेमिफाईनलमा मध्यपुर युथ एशोसियसनसँग टाईब्रेकरमा पराजित भएको थियो भने हिमालयन शेर्पाले लिग चरण पार गर्न सकेको थिएन ।

प्रतियोगिता अन्तर्गत मंगलबार दोस्रो क्वार्टरफाईनल खेलमा समूह बी विजेता मच्छिन्द्र एफसी र समूह ए उपविजेता संकटा क्लब प्रतिष्पर्धामा उत्रनेछन् । प्रतियोगिताको विजेताले नगद १५ लाख तथा उपविजेताले ७ लाख प्राप्त गर्दा प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही ७५ हजार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले भने एक थान मोटरसाइकल प्राप्त गर्नेछ । मनाङ मस्र्याङ्दी डिफेण्डिङ च्याम्पियन टिम हो ।

कमेन्टहरु
Loading...