पोखराको अर्मलामा श्रीपञ्चमीमा मेलामा पर्वतिय दौड हुने

पोखरा, १४ माघ
श्रीपञ्चमीको अवसरमा पोखरा महानगर पालिका १६ अर्मलामा स्थानिय दुर्गा युवा क्लबको आयोजनामा माघ १६ गते पर्वतिय दौड हुने भएको छ । मेलाको अवसरमा पुरुष भलिवल तथा ठेलो प्रतियोगिता समेत हुने अध्यक्ष गंगा बहादुर गुरुङले जानकारी दिएका छन् ।

विशेष आर्कषणका रुपमा रहेको पर्वतिय दौड पोखरा १६ स्थित के आई सिंह पुल, दिप बाट शुरु हुने जनाइएको छ । १२ किलोमिटर पर्वतिय दौड सुन्दरफिड चोक, बाटुलेचौर, महेन्द्र गुफा, घार्मी खोला, अर्मला डिही, डाँडा बिसाउना हुँदै अर्मला कोटमा पुगेर सम्पन्न हुनेछ ।

पर्वतिय दौडमा प्रथम, द्वितिय र तृतिय हुनेले क्रमश नगद १५ हजार, १० हजार र ५ हजार नगदका साथमा मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । पर्वतिय दौडमा १ सय भन्दा वढी धावकको सहभागिता रहने जनाइएको छ ।

यसै गरि सोही कार्यक्रम अन्तरगत अर्मलाकोट सिता आधारभुत विद्यालयको खेल मैदानमा पुरुष भलिबल समेत हुने भएको छ । पुरुष भलिबलमा प्रथम र द्वितिय हुनेले क्रमश नगद ४० हजार र २५ हजारका साथमा कप, मेडल र ट्रफी प्राप्त गर्नेछन । प्रतियोगितामा १२ टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

श्री पञ्चमीकै अवसरमा अर्मलामा परम्परागत रुपमा हुँदै आएको ठेलो हान्ने प्रतियोगिता समेत हुनेछ । प्रतियोगितामा १६ वर्ष मुनी र सो भन्दा माथीका दुई अलग–अलग प्रतियोगिता हुने क्लबले जनाएको छ । विजेताले नगद ३ हजार प्राप्त गर्नेछन ।

अर्मलामा सदियौं देखि श्री पञ्चमी मेला हुँदै आएको छ । माघ १४ गते बाट शुरु हुने मेला अन्तरगत अर्मलाको शक्ती पिठ मौदुमा गाउँले महिलाहरुले माघ १५ गते साँझ पुजा गर्ने चलन रहेको स्थानिय जुम गुरुङले बताए । उक्त शक्ती पिठमा पञ्चमीको दिन वलि समेत दिइने प्रचलन रहेको छ ।

अर्मला कोटमा अवस्थित सिता आधारभुत विद्यालयको वार्षिकोत्सवका साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत हुने भएका छन । गण्डकी प्रदेश सरकारले अर्मलालाई गत वर्षनै होम स्टेको रुपमा घोषणा समेत गरेको छ ।

कमेन्टहरु
Loading...