Ganthan News Pokhara since 2009.
अन्तर विद्यालय छात्र तथा छात्रा ह्याण्डवल प्रतियोगिता पोखरामा सुरु
पोखरा ९, असार/पोखराको लामाचौरमा रहेको गण्डकी आवासिय माविले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा आज (शुक्रबार) देखि सुरु भएको तेश्रो संस्करणको एकता बुक्स अन्तर बिद्यालय छात्र तथा छात्रा ह्याण्डवल प्रतियोगिता अन्र्तगत छात्रा तर्फको उद्घाटन खेलमा गण्डकीले एस.ओ. एस. हर्मन माईनर बिद्यालयलाई ९–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै गण्डकीले बिजयी सुरुवात गरेको हो ।
गण्डकीको जितमा राष्ट्रिय खेलाडी आकृती गुरुङले ५ गोलको योगदान दिएकी हुन । त्यसै गरी छात्रा तर्फ भएको खेलमा लिटिल स्टेप माविले सोसल पव्लिक स्कुललाई ४–० ले पराजित गरेको छ । अर्को खेलमा पि.के.जी.ले वेल नन एकेडेमीलाई २–० ले पराजित गर्यो। एस.ओ.एसले जे.सि.एलाई ४–० ले पराजित गर्दा अर्को खेलमा गण्डकी आवासिय माविले रत्न ज्योति माविलाई शुल्यका बिरुद्ध १२ गोलको बिशाल अन्तरले पराजित गर्यो ।
सरस्वती आवासिय बिद्याश्रमले रेन्वो एकेडेमीलाई ५–२ ले, माउण्ट अन्नपुर्णले वाक ओभरमा सहज जित दर्ता गर्यो । रिभडेल स्कुल प्रतियोगितामा सहभागि नभए पनि माउण्ट अन्नपुर्णलाई सहज जित हात परेको हो । पोखरा एकेडेमीले पोखरा लनर्स एकेडेमीलाई ११–२ को गोल अन्तरले पराजित गर्दा अर्को खेलमा ज्ञान ज्योतिले पि.के.जी.लाई एकतर्फी १० गोल बर्षाउदै जित हासिल गर्यो ।
त्यस्तै शुक्रबार छात्र तर्फ भएको खेलमा सत्य साई बिद्याश्रमले पि.के.जीलाई ७–४ को गोल अन्तरले पराजित गर्दा अर्को खेलमा अक्सपोर्ड स्कुलले वेल नन एकेडेमीलाई ८–६ को अन्तरले पराजित गरेको हो । कास्की मोडनाईजले बाल प्रभातलाई १२–१ को फराकिलो गोल अन्तरले पराजित गर्यो ।
उक्त प्रतियोगिताको औपचारिक रुपमा पश्चिम पृतनाका पृतनापति जगदिशचन्द्र पोखरेलले राष्ट्रिय रेफ्रि पद्म नेपाली र विशाल बस्नेतलाइ वल हस्तान्तरण गरी गरे । कार्यक्रममा वोल्दै पृतनापति पोखरेलले पोखरामा विभिन्न यस्ता खेल गतिविधिले खेलाडी उत्पादनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।