आहा राराको १८ औं संस्करणमा पुरस्कार राशी बढ्यो

पोखरा, १० फागुन / १८ औं संस्करणको आहा रारा गोल्डकपमा यो वर्ष १० टिमले मात्रै प्रतिस्पर्धा गर्ने भएका छन् ।

तीन विभागीय क्लबसँगै उपाधिको लागि रुस्लान थ्रीस्टार, नेपाल आयल निगम मनाङ मस्याङ्दी क्लब, बिग्रेड ब्वाईज क्लब, संकटा क्लब, झापा ११ फुटबल क्लब, गान्तोक सिटी फुटबल क्लब भारत र आयोजक सहारा क्लबसँग प्रतिस्पर्धा गर्ने आयोजक सहारा क्लबले जानकारी दिएको छ ।

शनिबार पत्रकार सम्मेलन गरे फागुन २२ गतेदेखि चैत १ गते सम्म हुने प्रतियोगिता पोखरा रंगशालाको निमार्ण भइरहेको स्टेडिममा प्रतियोगिता हुने सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।

क्लबले यो वर्ष पुरस्कार राशी पनि बृद्धि गरेको छ । विजेताले १० लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छ । उपविजेताले भने ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छ । त्यसैगरी सर्वोत्कृष्ठ खेलाडीले स्कुटर प्राप्त गर्ने छ । बेष्ट फाईभलाई प्रदान गरिने ट्रफी सहारा युकेले प्रायोजन गरेको छ ।

क्लबका अध्यक्ष थापालाई सहारा युकेका महासचिव धनु थकाली एवं सल्लाहकार महेश गुरुङले ट्रफी हस्तान्तरण गरे । सहारा युकेले प्रत्येक खेलको म्यान अफ दि म्याचलाई ५ हजार रुपैयाँ प्रदान गर्न सहयोग गरेको छ ।

पोखरा फुटबल रंगशाला
पोखरा फुटबल रंगशाला

उदघाटन समारोहमै क्लबले ‘सर्वोत्कृष्ठ राष्ट्रिय फुटबल खेलाडी सम्मान –२०७६’ बाट एकजना खेलाडीलाई सम्मान गर्ने जनाएको छ । खेलाडी सम्मानलाई कास्की जिल्ला फुटबल संघका पुर्व अध्यक्ष खेमबहादुर गुरुङले प्रायोजन गरेका हुन् । पुरस्कार राशी ३५ हजार, सम्मानपत्र र दोसल्ला रहेको छ ।

हिमश्री फुड्सको मुख्य प्रायोजन रहेको गोल्डकपलाई विभिन्न संघसंस्थाले सहप्रायोजन तथा उपप्रायोजन एवं प्रायोजन गर्दै आएका छन् । एक करोड १८ लाख रुपैयाँ कमाई गर्ने लक्ष्य लिएको प्रतियोगिता सम्पन्न गर्न ९९ लाख ३८ हजार लाग्ने अनुमान रहेको सहारा क्लबका महासचिब रामजीप्रसाद बरालले बताए ।

रकम बचत गर्दै पोखरा–१७ दोविल्लामा स्थापित सहारा एकेडेमीमा आश्रित २४ जना बालको लालनपालन, पोषणसँगै शिक्षादिक्षामा क्लबले खर्च गर्दै आएको छ ।

कमेन्टहरु
Loading...