आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगितामा दुई विदेशी सहित १२ टिम, दर्शकलाई स्कुटर

सागर राज तिमिल्सिना
पोखरा, २५ पुस/सहारा क्लब पोखराको आयोजनामा सञ्चालन हुने आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको १७ औं संस्करणमा दुई विदेशीसहित १२ टिमको सहभागिता जनाउने भएका छन् । माघ ९ गतदेखी २० गते सम्म हुने प्रतियोगितामा भारत र बंगलादेशका सहित १२ टिम सहभागि हुने मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा बंगलादेशको उत्तर बरिन्धरा क्लब, भारतको युनाईटेड सिक्किम फुटबल क्लब, मनाङ मस्र्याङदी क्लब, थ्री–स्टार क्लब, संकटा क्लब, रमपम झापा एघार फुटबल क्लब, धरान फुटबल क्लब, सुदुर पश्चिमाञ्चल एघार स्पोर्टिङ क्लब, तीन वटा विभागिय नेपाल पुलिस क्लव, त्रिभुवन आर्मी क्लव र सशस्त्र प्रहरी वलको एपीएफ क्लब र आयोजक सहारा क्लबले सहभागीता जनाउने क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।

क्लबले पुरस्कार राशीमा समेत बृद्धि गरेको उनले जानकारी दिए । प्रतियोगितमा विजेताले उपाधीसहित ७ लाख १ हजार, उपविजेताले ३ लाख ५१ हजार प्राप्त गर्नेछ । गत बर्ष विजेताले ५ लाख १ हजार, उपविजेताले २ लाख ५१ हजार प्रदान गरेको थियो ।

यस बर्षको आहा रारा गोल्ड कप हेर्न भाग्यशाली एक जना दर्शकलाई सहारा हङकङबाट स्कुटर प्रदान गरिने थापाले बताए । उनका अनुसार गत बर्ष प्रदान गरिदै आएको भाग्यशाली दर्शक उपहार सुनको सिक्रीबाट बृद्धि गरी स्कुटर प्रदान गरिने र अर्को एक जना भाग्यशाली दर्शकलाई एकथान एलजी टिभी प्राप्त गर्ने बताए ।

प्रतियोगिता सम्पन्न गर्न करिब ९० लाख खर्च लाग्ने र १ करोड २१ लाख आम्दानी गर्ने लक्ष्य रहेको उनले बताए । बचत भएको रकम सहारा एकेडेमीमा रहेका बालकलाई खर्च गरिने थापाले बताए । सहारा एकेडेमीमा हाल १६ जिल्लाका २८ जना वालकहरु छन् ।

पोखरा रङ्गशालाको फुटबल मैदान अन्तराष्ट्रियस्तरको निर्माणको लागि हाल ग्लोवल टेण्डर आव्हान भई, पुरानो प्यारापिट भत्काउने कार्य भई रहेकोले क्लबले कृत्तिम प्यारापिट (स्काई फोल्डिङ) निर्माण गर्ने भएको छ । प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउ रहेको छ भने सहारा क्लव अष्ट्रेलिया दोश्रो पुरस्कार प्रायोजकको रुपमा रहेको छ ।

कमेन्टहरु
Loading...