१३ औं साग भारोत्तोलनमा भारत च्याम्पियन, नेपाललाई २ स्वर्ण, ३ रजत र ११ कास्य

पोखरा, २२ मंसिर/ १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत नेपालले भारोत्तोलन प्रतियोगितामा हालसम्मकै उत्कृष्ट नतिजा पस्किदै सुखद अन्त्य गरेको छ । नेपालले कुल २० इभेन्टअन्तर्गत सहभागी १६ इभेन्ट्मा हरेकमा पदकसहित २ स्वर्णसहित कुल १६ पदक जित्न सफल भयो ।

पोखरामा चार दिनसम्म चलेको प्रतियोगितामा नेपालले २ स्वर्ण, ३ रजत र ११ कास्य सहित कुल १६ पदक जित्न सफल भएको हो । शनिबारसम्म १४ पदक जितेकोमा अन्तिम दिन आइतबारको खेलबाट नेपालले १ रजत र १ कास्य थप गरेको हो ।

प्रतियोगितामा नेपाल सहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र भुटानको सहभागिता थियो । भुटानको पहिलो सहभागिता रहेकोमा माल्दिभ्स खेल्न आएन । प्रतियोगितामा भारतले सर्वाधिक ९ स्वर्ण जित्दा पाकिस्तानले ६ तथा नेपाल, बंगलादेश र श्रीलंकाले समान २–२ स्वर्ण जिते । भुटानले १ मात्र कास्यमा चित्त बुझायो ।

नेपालको तर्फबाट सञ्जु चौधरी (महिला ५९ केजी) र विकास थापा (पुरुष ८९ केजी) तौल समूहमा स्वर्ण जितेका हुन् । महिलातर्पm नेपालले ऐतिहासिक पहिलो स्वर्ण जितेको हो । अघिल्लो १२ औं संस्करणसम्म नेपालले भारोत्तोलनमा १ मात्र स्वर्ण सहित २३ रजत र ८६ कास्य जितेको थियो । पहिलो स्वर्ण लिफ्टर कमलबहादुर अधिकारीको नाममा छ ।

यसैबीच, आइतबारको खेलमा नेपालका लागि सागर भण्डारीले पुरुष १०९ तौल समूहमा रजत पदक जित्न सफल भएका छन् । सो समूहमा पाकिस्तानी खेलाडी हन्जाला दस्तगीर वुटले स्वर्ण जिते । उनले स्न्याचतर्फ १५० र क्लीन एण्ड जर्कमा १८१ सहित कुल ३३१ किलो भार बहन गरेका हुन् ।

सागरले राष्टिय रेकर्ड कायम गर्दै स्न्याचतर्फ १२० र क्लीन एण्ड जर्कमा १५५ गरी कुल २७५ तौल उठाएका हुन् । यसअघि सागको छनोट चरणमा आफ्नो नाममा तीनै विधाको रेकर्ड १३ औं सागमा उनले भंग गरेको जानकारी नेपाल भारोत्तोलन संघका प्रवक्ता रुकेश तण्डुकारले जनाए । प्रतियोगितामा बंगलादेशका खेलाडी मोहम्मद अब्दुल्लाह अई मुमिनले कास्यमा चित्त बुझाए । उनले स्न्याचतर्फ १२० र क्लीन एण्ड जर्कमा १४७ सहित कुल २६७ तौल उठाएका हुन् ।

आइतबार नै भएको १०९ प्लस तौल समूहमा पाकिस्तानकै मोहम्मद नुह दस्तगीर वुटले स्वर्ण जिते । उनले स्न्याचमा १६५ र क्लीन एण्ड जर्कमा २१५ गरी कुल ३८० तौल उठाएका हुन् । सो तौल जारी संस्करणको सर्वाधिक भार बहन हो । १०९ किलो तथा १०९ प्लस किलो तौल समूहमा स्वर्ण जित्ने पाकिस्तान खेलाडी बुट सहोदर दाजुभाइ हुन् । १०९ प्लसमा श्रीलंकन खेलाडी डब्लु पी यु चरुकाले रजत जिते ।

उनले स्न्याचमा १४० र क्लीन एण्ड जर्कमा १८० गरी कुल ३२० भार बहन गर्दा नेपालका लागि पुकार गुरुङले कुल २७५ तौल उठाए । उनले स्न्याचतर्फ १३२ र क्लीन एण्ड जर्कमा १४३ भार बहन गरेका हुन् । पुकारको स्न्याच विधामा राष्टिय रेकर्ड हो । सो स्पर्धामा बंगलादेशका खेलाडी चौथो भए । खेलपछि प्रतिक्रिया दिँदै नेपाल भारोत्तोलन संघका अध्यक्ष तिलकबहादुर रावलले नेपालले हालसम्मकै उत्कृष्ट नतिजा ल्याएको भन्दै खुसी व्यक्त गरे ।

Medal Total in Weightlifting :-

Country Gold Silver Bronze Total
Bangladesh 2 6 5 13
Bhutan 1 1
India 9 1   10
Nepal 2 3 11 16
Pakistan 5 2 1 8
Srilanka 2 8 1 11
कमेन्टहरु
Loading...