साग महिला फुटबलमा भारत समूह विजेता, नेपाल र भारत फाइनलमा

पोखरा, २१ मंसिर/ १३ औ दक्षिण एशियाली महिला फुटबलमा भारतले अर्को जित निकालेको छ । पोखरा रंगशालामा भएको खेलमा भारतले आयोजक नेपाललाई १–० गोल अन्तरले हराउँदै समूह विजेता बनेको छ ।

४ देशमात्रै सहभागी भएकाले प्रतियोगिता राउन्ड रोबिनका आधारमा खेलाइएको थियो । जसमा शनिबार भएको भारत र नेपालबीचको खेललाई ‘प्रिभ्यू म्याच’ का रुपमा हेरिएको थियो । समूह विजेता र उपविजेता बनेपछि फाइनलमा पनि यी दुवै राष्ट्र भिड्नेछन् । यद्यपि १ खेलअगावै दुवैले फाइनल यात्रा पक्का गरिसकेका थिए ।

भारतकी स्ट्राइकर एनजी बालादेवीले खेलको १८ औं मिनेटमा गोल गर्दै आफ्नो राष्ट्रलाई अग्रता दिलाइन् । खेल निकै प्रतिस्पर्धात्मक भएपनि बालादेवीको गोल नेपालले फर्काउन नसक्दा समूह उपविजेतामै सीमित हुन पुग्यो ।

खेलको १० औ मिनेटमा सरु लिम्बुले डिबक्स भित्र पाएको राम्रो अवसरलाई बायाँ खुट्टाले प्रहार गर्दा बलले फस्टबार नजिकैबाट बाहिरिएको थियो । सावित्रा भण्डारी ‘साम्बा’ नेपाली टीमका गोल मेसिन मानिन्छिन् । उनले जारी सागमै अन्तर्राष्ट्रि महिला फुटबल जगतमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाइन् । तर, उनले भारतविरुद्ध पाएको अवसरलाई गोलमा परिणत गर्न सकिनन् । भारतले उनै साम्बालाई ‘मार्क’ गरेर गोल नदिने रणनीतिमा सफल देखियो ।

पहिलो हाफको २० औ मिनेटमा सावित्रा भण्डारीले हानेको प्रहार गोल पोष्ट नजिकबाट बाहिरिएको थियो ।भारतले पाएको थोरै अवसरलाई उनीहरुले खेर फालेनन् र १८ औं मिनेटमा अग्रता लिए ।
दोस्रो हाफको ९ औं मिनेटमा नेपाली खेलाडीलाई लडाउँदा भारतका ए रोजा देवीले पहेंलो कार्ड पाएकी थिइन् । डिबक्स छेउमा नेपाली टीमका स्ट्राईकर साम्बालाई लडाएपछि भारतकै अर्का खेलाडी संगीता बासफोरे अर्को पहेंलो कार्डको सामना गरिन् । रंगशाला खचाखच भएको दर्शकको साथ पाएको नेपालले खेलमा फर्कन खोजे पनि गोल गर्न भने सकेन ।

रेनुका नगरकोटीको कप्तानीमा मैदान उत्रेको नेपाली टीमले भारतको गोल पोस्टमा हाबी देखिएपनि सुखद नतिजा भने दिलाउन सकेनन् । यो कुरा नेपाली टिमका प्रशिक्षक हरि खड्का स्वीकार्छन् । भन्छन्, ‘भारतसँग हाम्रो खेल एकदमै टफ लेबलको थियो । तर, पाएका चान्सेसलाई क्याच गर्न नसक्दा हा¥यौं ।’ घरेलु मैदानमा नेपाली दर्शकले राम्रै साथ दिएका थिए ।

फिफा वरियतामा ५८ औं स्थानमा भारत छ भने नेपाल झन्डै दोब्बर सय औं स्थानमा छ । तर, शनिबार २ देशबीच भएको खेल भने निकै प्रतिस्पर्धात्मक भएको थियो । भारतीय प्रमुख प्रशिक्षक म्यामल रक्की खेल जित्न धेरै कठिन भएको प्रतिक्रिया दिइन् । ‘आजको खेल एकदमै प्रतिस्पर्धात्मक भयो । मलाई लाग्छ हामीलाई मात्रै होइन, विपक्षीलाई पनि खेलअवधिभर उत्तिकै प्रेसर भएको हुन सक्छ,’ उनले भनिन् । दुवै देश स्वर्ण पदकका लागि सोमबार मैदानमा उत्रनेछन् ।

श्रीलंका जीतविहीन, माल्दिभ्सलाई काश्य

जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला फुटबलमा माल्दिभ्सले काश्य पदक हात पारेको छ । पोखरास्थित फुटबल स्टेडियममा भएको खेलमा शनिबार भएको खेलमा माल्दिभ्सले श्रीलंकालाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

राउन्ड रोबिन लिग आधारमा भएको खेलमा श्रीलंका र माल्दिभ्स दुवैले जारी प्रतियोगितामा खाता खोल्न सकेका थिएनन् । दुवै नेपाल र भारतसँग पराजित हुँदै तेस्रो स्थानका लागि भिडेका हुन् । लिगमा तल्लोस्थानमा रहेकैले शनिबार भएको खेलबाट काश्य पदक छिनोफानो गरिएको हो ।

खेलको अग्रता माल्दिभ्सका ऐसथ फिरुसाले ४३ औं मिनेट गोल गर्दै लिएकी थिइन् । पहिलो हापको अन्तिमा समयमा गोल खाएपछि श्रीलंका दबाबमा परेको थियो । लगत्तै दोस्रो हापको पहिलो मिनेट (४६)औं मिनेटमा माल्दिभ्सकै अमिनाथ सामिलाले गोल गर्दै अग्रता दोब्बर गरेकी थिइन् ।

श्रीलंकाकी चलानी एकनायकाले ७१ औं मिनेटमा गोल गर्दै माल्दिभ्सको गोलअन्तर घटाएकी थिइन् । तर, बाँकी समयमा पाएका अवसरलाई गोलमा परिणत गर्न नसक्दा भने श्रीलंका साग इतिहासमा काश्य पदक चुम्नबाट चुकेको छ । यद्यपि दुवै टिमले हारेपनि जितेपनि स्वर्ण पदकका लागि पुनः फाइनलमा भिड्ने छन् । लिग चरणमा दुवै टिम शीर्षस्थानमा रहेकाले एक खेल अगावै दुवै टिमले फाइनल यात्रा पक्का गरेक हुन् ।

कमेन्टहरु
Loading...