ला लिगा : जिरोनालाई हराउँदै सेभिल्ला दोस्रो स्थानमा, बार्सिलोनासँग अंक बराबरी ! फुटबल खबर

काठमाडौं, पुस १
स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोनामाथि दबाब बढेको छ । लिगमा आइतबार भएको आफ्नो खेलमा सेभिल्लाले जित निकाल्दै बासिलोनासँग अंक बराबरी गरेको छ । र, ऊ एथ्लेटिको मड्रिडलाई पछि पार्दै दोस्रो स्थामा उक्लिएको छ ।

आज भएको खेलमा सेभिल्लाले आफ्नो घरमा पाहुना टोली जिरोनालाई २–० ले हरायो । सेभिल्लाले २ वटै गोल दोस्रो हाफमा गरेको थियो ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । तर, खेलको ५५औं मिनेटमा सेभिल्लाले पेनाल्टी पायो । जहाँ बेनेगाले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए ।

त्यसछि खेलको ६४औं मिनेटमा सेभिल्लाका लागि पाब्लो सर्वियाले अर्को गोल गरेपछि सेभिल्ला २–० ले अगाडि रह्यो । त्यसपछि बाँकी समयमा गोल नभएपछि खेल सेभिल्लाले २–० ले जित्यो ।

यो जितपछि सेभिल्लाले समान १६ खेलबाट ३१ अंक बनाएको छ, जुन एक खेल कम खेलेको बार्सिलोनासँग बराबर हो । यता, तेस्रो स्थानमा झरेको एथ्लेटिको मड्रिडको खातामा पनि समान ३१ अंक नै छ । चौथो स्थानको रियल मड्रिडको खातामा २९ अंक छ ।

लिगको अंक तालिकामा कडा प्रतिस्पर्धा रहेकाले आज राति आफ्नो १६औं खेल खेल्न लागेको बार्सिलोनामाथि जित्नैपर्ने दबाब बढेको छ । यदि बार्सिलोना विजयी भए उसले दोस्रो र तेस्रो स्थानको टोलीसँग ३ तथा चौथो स्थानको टोलीसँग ५ अंकको अग्रता बनाउने छ ।

यता, आज सेभिल्लासँग पराजित जिरोनाको खातामा समान १६ खेलबाट २१ अंक छ । ऊ लिगको १०औं स्थानमा छ ।

कमेन्टहरु
Loading...