रोनाल्डो भन्छन्– ‘म मेस्सीसँग कहिल्यै डराइनँ, उनलाई इटाली आउन चुनौती दिन्छु’ फुटबल

एजेन्सी, मंसिर २४
जारी सिजनको सुरुमा अप्रत्यासित रूपमा रियल मड्रिड छाडेर इटालियन युभेन्टस पुगेका क्रिस्टियानो रोनाल्डोले आफ्ना पूर्वप्रतिस्पर्धी बार्सिलोनाका लिओनल मेस्सीलाई स्पेनभन्दा बाहिरबाट खेल्न चुनौती दिएका छन् । इटाली पुगेपछि पहिलोटक मिडियामा औपचारिक अन्तर्वार्ता दिँदै रोनाल्डोले मेस्सीलाई स्पेन छाड्न चुनौती दिएका हुन् ।

हालसालै इटालीको चर्चित पत्रिका ‘ला गजेटा डेलो स्पोर्टस्’सँगको विशेष अन्तर्वार्तामा रोनाल्डोले आफ्नो करिअरका आगामी योजना, रियल छँदाका अनुभव र रियल छाड्नुका कारणबारे बताएका छन् ।

सो अन्तर्वार्तामा रोनाल्डोले च्याम्पियन्स लिग जित्नु युभेन्टसका लागि ठूलो कुरा नभएको बताएका छन् । ‘जसरी रियल मड्रिडले १०औं पटक च्याम्पियन्स लिग जित्ने सपना देखेको थियो, त्यो सपना युभेन्टससँग पनि छ,’ रोनाल्डोले भने ।

रोनाल्डोले युभेन्टस एक आत्मीय परिवार रहेको पनि बताए । ‘युभेन्टस एक आत्मीय र सच्चा परिवार हो,’ उनले भने ।

रोनाल्डोले स्पेन छाड्नुको कारणबारे बताउँदै आफूले कहिल्यै पनि मेस्सीसँग नडराएको बताए । ‘म कहिल्यै पनि मेस्सीसँग डराइनँ, मैले खेलेका सबै ठूला लिग जितेको छु,’ उनले भने ।

उनले अघि थपे, ‘मैले इंग्ल्यान्डमा खेलें । त्यसैगरी, स्पेन, पोर्चुल र इटालीमा पनि खेलें,’ रोनाल्डोले भने, ‘तर, मेस्सीले हालसम्म स्पेनमा मात्रै खेलिरहेका छन्, उनले अब पनि मेरोजस्तै थप बढी खेल्नुपर्छ ।’

रोनाल्डोले आफू नयाँ चुनौतीका लागि इटाली आएको बताए । ‘मेरा लागि जीवन चुनौती हो । र, मलाई यो मन पनि पर्छ । म आफू र मानिसलाई सकेसम्म धेरै खुसी बनाउन चाहन्छु,’ रोनाल्डोले थपे ।

रोनाल्डोले मेस्सी स्पेनमै खुसी रहेको भए आफ्नो सधैं सम्मान रहने पनि बताए । ‘यदि मेस्सी स्पेनमै खुसी छन् भने मेरो भन्नु केही छैन, उनीप्रति मेरो सधैं सम्मान रहनेछ ।’

३३ वर्षीय रोनाल्डो यसै सिजनको सुरुमा रियलको ९ वर्षे बसाइ बिट मारेर १ सय १६ मिलियन युरोमा युभेन्टस पुगेका थिए । रियलमा छँदा उनले कूल ४ सय ३८ खेलबाट ४ सय ५० गोल गरेका थिए ।

कमेन्टहरु
Loading...